काठमाडौं - आफ्ना माग सुनुवाई नभएको भन्दै नेपाल सिएमए संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायको नेतृत्वमा आमरण अनसन सुरु भएको छ।
पाँच वटा स्वास्थ्य संगठनको संयुक्त संघर्ष समिति तर्फबाट उपाध्यायको नेतृत्वमा आजदेखि काठमाडौंको सिफल चौरबाट आमरण अनसन सुरु भएको हो। नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ, मेडिकल ल्याबोटरी एसोसिएसन, नेपाल सिएमए संघ र हेल्थ असिस्टेन्ट संघ नेपालको तर्फबाट उनको नेतृत्वमा आमरण अनसन सुरु भएको हो।
नेपाल स्वास्थ्य व्यवसायी परिषद् लामो समयदेखि कानुनी, संरचनागत र प्रतिनिधित्वसम्बन्धी गम्भीर समस्यामा अल्झिएको भन्दै विभिन्न उनीहरुले यसअघि आन्दोलनको चेतावनी दिएका थिए।
परिषद् ऐन २०५३ जारी भएको झण्डै तीन दशक बितिसक्दा पनि ऐनको दफा ४ (२) अनुसार परिषद् पूर्ण रूपमा गठन हुन नसकेको, समयमै पदाधिकारी नियुक्ति नगरिएको र सबै पेशागत समूहको समावेशी प्रतिनिधित्व सुनिश्चित हुन नसकेको उनीहरूको गुनासो छ। परिषद्मा आवश्यक सदस्य संख्या नपुग्दा दर्ता, नवीकरण, निरन्तर पेशागत विकास, अनुशासनात्मक कारबाही तथा नियमनजस्ता नियमित कामहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उनीहरुको भनाई छ।
परिषद्मा दर्तावाल ठूलो समूहका स्वास्थ्यकर्मीहरूको एसोसिएसनको प्रतिनिधित्व सुनिश्चित गर्न पटक–पटक माग गर्दा पनि सरकार र सम्बन्धित निकाय गम्भीर नदेखिएको उनीहरुको आरोप छ।