काठमाडौं- पूर्वी एसियाली क्षेत्रका एमबीबीएस अध्ययनरत विद्यार्थीहरूद्वारा वार्षिक रूपमा आयोजना हुने प्रतिष्ठित सम्मेलन ईस्ट एसियन मेडिकल स्टुडेन्ट्स कन्फ्रेन्स (EASMC) यसपटक नेपालमा आयोजना भएको छ। एसियाका विभिन्न मुलुकमा पालैपालो आयोजना हुँदै आएको यो सम्मेलन पाँच दिनसम्म सञ्चालन हुनेछ।
एशियन मेडिकल स्टुडेन्ट्स एसोसिएसन नेपाल (आम्सा नेपाल) को आयोजनामा सम्पन्न हुँदै आएको सम्मेलनमा आठवटा एसियाली देशका १३० भन्दा बढी विद्यार्थी प्रतिनिधिहरूको सहभागिता रहेको छ। मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा अभिमुखीकरण तालिमलाई मुख्य उद्देश्य बनाएर सम्मेलन सञ्चालन गरिएको डा विकास मिश्रले जानकारी दिएका छन्।
उनका अनुसार सम्मेलनको उद्घाटन समारोह माघ १ गते काठमाडौंस्थित होटल याक एन्ड यतीमा भव्य रूपमा सम्पन्न भएको छ। उद्घाटन समारोहको अध्यक्षता सम्मेलन संयोजक प्रमुख डा. सागर विश्वकर्माले गरेका थिए भने सह–अध्यक्षता डा. जेसिका यादवले गरेकी हुन्।
समारोहका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय, चिकित्सा अध्ययन संस्थानका डीन प्रा.डा. मोहनराज शर्माले गरेका थिए भने विशिष्ट अतिथि महाराजगञ्ज मेडिकल क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. सुरेश उप्रेती थिए। कार्यक्रममा मिस ग्लोब २०२५ की विजेता ‘चेरेइम’लाई अतिथिका रूपमा आमन्त्रण गरिएको थियो। साथै आम्सा नेपालका का पूर्वअध्यक्ष तथा मिस्टर नेपाल २०१९ डा. सन्तोष उपाध्यायको पनि आतिथ्यता रहेको थियो।
उद्घाटन समारोहमा वक्ता तथा अतिथिहरूले मानसिक स्वास्थ्य र समग्र सुस्वस्थताको महत्वबारे आफ्ना धारणा राखेका थिए। आम्सा नेपालकी अध्यक्ष सुस्मिता खतिवडाका अनुसार सम्मेलनको दोस्रो दिन (जनवरी १६) शैक्षिक गतिविधिहरू सञ्चालन गरिनेछन्। यसअन्तर्गत रिसर्च प्रतिस्पर्धा, पोस्टर प्रस्तुतीकरण प्रतियोगिता तथा चित्रकला प्रतियोगिता आयोजना गरिनेछ। विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. केदारले मानसिक स्वास्थ्यसम्बन्धी विषयमा विशेष प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको छ। साथै मानसिक स्वास्थ्य प्राथमिक उपचार, नृत्य–आधारित थेरापी तथा मनोवैज्ञानिक प्राथमिक उपचारसम्बन्धी कार्यशालाहरू क्रमशः गणेश अमगाइँ, डा. अञ्जला रेग्मी र डा. प्रकृति प्रधानले सञ्चालन गर्नेछन्।
तेस्रो दिन (जनवरी १७) सहभागीहरूले आ–आफ्ना देशका संस्कृति र परम्परा प्रस्तुत गर्ने सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ, जसबाट आपसी सांस्कृतिक आदान–प्रदान र अनुभव साटासाट हुने अपेक्षा गरिएको छ।
चौथो दिन (जनवरी १८) कीर्तिपुर नगरपालिका क्षेत्रभित्रका सरकारी विद्यालयहरूमा समुदाय सेवा कार्यक्रम सञ्चालन गरिनेछ। सो क्रममा किशोर–किशोरीहरूलाई मानसिक स्वास्थ्यको महत्वबारे सचेतना प्रदान गरिनेछ। साँझमा काठमाडौं उपत्यकाका सांस्कृतिक तथा ऐतिहासिक सम्पदा स्थलहरूको भ्रमण कार्यक्रम पनि रहेको छ।
पाँचौं दिन (जनवरी १९) सम्मेलनको औपचारिक समापन तथा उत्कृष्ट सहभागीहरूलाई पुरस्कार वितरण गरिने तालिका रहेको छ।