काठमाडौं - नेपाल चिकित्सक संघको अवरुद्ध निर्वाचन प्रक्रिया पुनः अघि बढाउने क्रममा तोकिएको समयभित्र उम्मेदवार बन्न चाहेका सबै सदस्यहरूको मनोनयन कायम गरिएको छ।
संघको निर्वाचन समितिले जारी गरेको सूचनाअनुसार पाटन उच्च अदालतको आदेशका कारण रोकिएको निर्वाचन प्रक्रिया यथाशीघ्र अघि बढाउने उद्देश्यले यस निर्णय गरिएको हो। निर्वाचन समितिले यसअघि मिति पुस २७ गते विभिन्न सरोकारवालासँग छुट्टाछुट्टै छलफल तथा २८ र माघ ३ मा सर्वपक्षीय छलफल गरेको थियो।
उक्त छलफलहरू तथा निर्वाचन प्रक्रिया अगाडि बढाउन विभिन्न पक्षबाट निर्वाचन समिति समक्ष लिखित रूपमा गरिएको अनुरोधलाई मध्यनजर गर्दै, अदालतको आदेशको मर्मअनुसार उम्मेदवार मनोनयन पत्र दाखिला गर्ने तोकिएको मिति पस २ मा मनोनयन फारम पेश गरेका तथा दस्तुर बुझाएका सदस्यहरूको मनोनयन कायम गर्ने निर्णय गरिएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका अनुसार मनोनयन कायम भएका उम्मेदवारहरूको अन्तिम नामावली यथाशीघ्र प्रकाशन गरिनेछ। अनाैपचारिक छलफल अनुसार माघ १५ र १६ गते उपत्यका बाहिर र माघ २९, फागुन १ र २ गते उपत्यका भित्र निर्वाचन गर्ने तय भएकाे छ।
यसले नेपाल चिकित्सक संघको लामो समयदेखि रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ।

स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।