काठमाडौं– नेशनल बाथरोग सेन्टरले यस वर्ष पनि सांगीतिक कार्यक्रमसहित ‘बाथरोग जागरण अभियान’ लाई निरन्तरता दिएको छ। शनिबार ढोकाटोलमा स्वास्थ्य शिविर तथा सांगीतिक कार्यक्रम आयोजना गर्दै अभियानको सुरुवात गरिएको हो।
‘स्वास्थ्य तपाईंको, सेवा हाम्रो’ भन्ने नाराका साथ नेशनल बाथरोग सेन्टरले स्वास्थ्य शिविर तथा सांगीतिक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी प्रबन्ध निर्देशक रोशन कक्षपतिले दिए। उनका अनुसार आगामी शनिबार कालीमाटीमा, त्यसपछि लगन र टोखामा कार्यक्रम गर्ने तय भएको छ।
उनले भने, “१३ वर्षदेखि बाथरोग जागरणका लागि कुनै न कुनै अभियान गर्दै आएका छौं। सुरुवाती दिनमा बाथरोग नियन्त्रणमा आउँछ कि आउँदैन, निको हुन्छ कि हुँदैन, उपचार सम्भव छ कि छैन भन्ने प्रश्नहरू थिए। अहिले केही हदसम्म जनचेतना बढाउन सफल भएका छौं, तर अझै धेरै अज्ञानता छन्। औषधि बीचमै छाड्ने जस्ता समस्या पनि देखिन्छन्।”
सही जानकारी आमजनमा पुर्याउन निरन्तर प्रयास भइरहेको उनले बताए। बाथरोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुरु गरिएको यो अभियान चर्चित सांगीतिक समूह ‘कुटुम्ब’ सँगको सहकार्यमा सञ्चालन भइरहेको छ। अभियानको नारा ‘स्वस्थ जीवनका लागि सुमधुर संगीत’ राखिएको छ।

नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ अर्थराइटिस समाजको संयुक्त आयोजनामा सञ्चालन भइरहेको यस अभियानअन्तर्गत बाथरोगसम्बन्धी फोटो प्रदर्शनी, रोग पहिचानका लागि निःशुल्क रगत परीक्षण तथा जनचेतनामूलक सांगीतिक कार्यक्रमसमेत समावेश छन्।
अभियानको सुरुवातको अवसरमा नेपाल ज्येष्ठ प्राध्यापक समाज र गणित विज्ञानमा नेपाली महिला संस्थाको छनोटमा परेका ज्येष्ठ प्राध्यापकहरूलाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ।
भौतिक विज्ञान क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै त्रिभुवन विश्वविद्यालयमा ४३ वर्ष सेवा अनुभव भएकी भौतिक विज्ञान विषयकी प्राध्यापक तथा पाटन संयुक्त क्याम्पसकी पूर्व क्याम्पस प्रमुख प्राध्यापक जयश्री मल्ल अमात्यलाई उक्त अवार्ड प्रदान गरिएको हो। त्यसैगरी गणित विज्ञानमा नेपाली महिला संस्थाकी पूर्व अध्यक्ष प्राध्यापक धनकुमारी थापालाई पनि अवार्ड प्रदान गरिएको छ।

कार्यक्रमको उद्घाटन सम्पदा तथा पर्यटन विभाग प्रमुख एवं काठमाडौं महानगरपालिका वडा नं. ०८ का वडा अध्यक्ष आशामान संगतले गरेका थिए। उद्घाटन समारोहमा बोल्दै उनले जीवनशैलीजन्य रोगका रूपमा बढ्दै गएको बाथरोगको समयमै पहिचान र उपचारका लागि यस्ता जनचेतनामूलक कार्यक्रम प्रभावकारी हुने बताए।
नेशनल बाथरोग सेन्टरले हाल काठमाडौंसहित भक्तपुर, पोखरा, झापा, बुटवल, दाङ, चितवन र धनगढीमा आफ्ना शाखा विस्तार गरिसकेको छ। आगामी दिनमा ग्रामीण तथा दुर्गम क्षेत्रमा समेत सेवा विस्तार गर्ने लक्ष्य रहेको सेन्टरले जनाएको छ।