काठमाडौं- नर्सहरूको नेतृत्व क्षमता विकास र व्यक्तित्व निखार्ने उद्देश्यले आयोजना गरिँदै आएको सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस’को नयाँ संस्करणको अडिसन भोलि (सोमबार) देखि सुरु हुँदैछ। आयोजक संस्था नेक्स्ट मोडल्स नेपालले भोलि अर्थात् जनवरी १९ तारिखबाट प्रतियोगीहरूको छनौट चरण सुरु हुन लागेको जानकारी दिएको छ।
‘सशक्त महिला, सबल राष्ट्र’ भन्ने नाराका साथ आयोजना हुन लागेको यो स्वास्थ्य पेसासँग सम्बन्धित नेपालकै एकमात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो। प्रतियोगितामा १७ देखि २८ वर्ष उमेर समूहका नर्स तथा नर्सिङ अध्ययनरत युवतीहरूले सहभागिता जनाउन सक्नेछन्। इच्छुक सहभागीका लागि ‘खल्ती’ एपमा आवेदन फारम उपलब्ध गराइएको छ।
अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्वको अवसर प्रतियोगिताको मुख्य विजेताले नगद एक लाख रुपैयाँ र ५ लाख बराबरको उपहार प्राप्त गर्नेछन्। साथै, विजेताले सन् २०२६ मा विदेशमा आयोजना हुने तीन ठुला अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछन्। मिस ग्लोबल (थाइल्याण्ड), मिस वर्ल्ड पिस (चीन) र मिस प्लानेट इन्टरनेसनल (भियतनाम)मा प्रतिनिधित्व गर्न पाउने नेक्स्ट मोडल्सले जनाएको छ।
व्यक्तित्व विकासमा जोड अडिसनबाट छानिएका प्रतियोगीहरूलाई अन्तिम प्रतिस्पर्धाका लागि विशेष प्रशिक्षण दिइने आयोजकले जनाएको छ। नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेका अनुसार सहभागीहरूलाई सञ्चार कला, व्यक्तित्व विकास, मोटिभेसन, लिडरसिप, ड्रेस सेन्स, पब्लिक स्पिकिङ र करियर काउन्सिलिङ जस्ता विषयमा पोख्त बनाइनेछ।
आयोजक संस्थाका अध्यक्ष रवि धमलाले यस पटक देशभरका चार दर्जनभन्दा बढी नर्सिङ कलेज र एक सयभन्दा बढी अस्पतालमा कार्यरत नर्सहरूको उत्साहजनक सहभागिता रहने विश्वास व्यक्त गरे। एनक्लेक्स नेपाल मुख्य प्रायोजक रहेको यस प्रतियोगिताले नर्सिङ पेसामा आबद्धहरूलाई पेसागत जिम्मेवारीका साथै समाजप्रति थप उत्तरदायी बनाउने लक्ष्य राखेको छ।
प्रतियोगितामा मुख्य विजेता बाहेक अन्य आधा दर्जन उपविधाहरूमा पनि विजेताहरू चयन गरिने आयोजकले जनाएको छ।