काठमाडौं- स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले आइतबार एक्कासी राजीनामा दिए। चार वर्षे कार्यकालका लागि कार्यकारी निर्देशकमा नियुक्त भएका काफ्लेले १० महिना काम गरेपछि पदबाट राजीनामा दिएका छन्।
काफ्लेलाई तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलको पालामा सरकारले फागुन २६ गते कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।
स्वास्थ्य बीमा कार्यक्रम सुधार गर्छु भन्ने योजनासहित निर्देशकको जिम्मेवारीमा आएका काफ्लेले यति छोटो समयमा किन राजीनामा दिए? स्वास्थ्य बीमा बोर्ड र स्वास्थ्य मन्त्रालयमा मात्र होइन बाहिर पनि यस विषय प्रश्न उठिरहेको छ।
स्वास्थ्यखबरले यही प्रश्न काफ्लेलाई सोध्न खोजेको थियो। तर उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा पत्र बुझाएर मोबाइल अफ गरेर बसेका रहेछन्।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार काफ्लेलाई सरकारले नै स्पष्टीकरण सोध्ने तयारी गरेको थियो।
कार्यकारी निर्देशक काफ्लेले बीमा कार्यक्रमको सुधारभन्दा पनि सरकारले नै असफल बनाउन लागेको भन्दै हल्ला गर्दै हिँडेको, सुधारका प्रयासमा काम नगरेको, अस्पतालहरुलाई भुक्तानीका विषयमा अनावश्यक दुख दिने गरेको लगायतका विषयमा स्पष्टीकरण सोध्ने तयारी गरेको मन्त्रालय स्रोतले जानकारी दियो।
'उहाँ (काफ्ले)लाई स्पष्टीकरण सोध्ने तयारी नै भइसकेको थियो। तर त्योभन्दा पहिला नै उहाँको राजीनामा आइसकेको रहेछ,' स्रोतले भन्यो।
बीमा बोर्डका कर्मचारीहरु भने स्वास्थ्य मन्त्रालय र सरकारबाट नै असहयोग भएपछि काफ्लेले राजीनामा दिएको बताउँछन्।
'बीमाको सुधारका लागि उहाँ सकारात्मक नै हुनुहुन्थ्यो। तर सरकारबाट नै असहयोग हुँदै गएपछि उहाँले बाध्य भएर राजीनामा दिनुभएको हो। सरकारले दिन्छु भनेको बजेट पनि नदिने र अन्य सहयोग पनि नगरेपछि भुक्तानी लगायतका विषयमा समस्या देखियो र उहाँले राजीनामा दिनुभएको हो,' काफ्लेसँग नजिक रहेर काम गरेका एक कर्मचारीले भने।
ती कार्मचारीका अनुसार काफ्लेले बजेट वक्तव्यमा नै आएका भुक्तानीको कार्यान्वयनको विषय, स्वास्थ्य बीमा सुधारका लागि समितिहरुले दिएको सुझाव कार्यान्वय गर्ने, बीमा बोर्डको दरबन्दी थप गर्ने लगायतका विषयमा काम गर्न खोज्दा सरकारले नै असहयोग गरेको हो।
यसका साथै विपन्न नागरिक उपचारको कार्यक्रम पनि बीमामा ल्याएपछि अस्पतालहरुको दाबीमा कडाइ हुन थालेपछि अस्पतालहरुले कार्यकारी निर्देशक काफ्लेले रकम रोकेको भन्दै मन्त्रालयमा आरोप लगाउने काम पनि भएको ती कर्मचारीले जानकारी दिए।
स्वास्थ्य मन्त्रालयका प्रवक्त डा प्रकाश बुढाथोकीले कार्यकारी निर्देशक काफ्लेले राजीनामा बुझाएपछि उनले किन राजीनामा दिएका हुन् भन्ने विषयमा मन्त्रालयले उनीसँग नै थप छलफल गर्ने र त्यसपछि मात्र मन्त्रिपरिषदमा लैजाने तयारी भएको बताए।
'उहाँको राजीनामा पत्र मन्त्रालयमा आएको छ। अब मन्त्रालयले एकपटक उहाँसँग यस विषयमा छलफल गर्ने र त्यसपछि मात्र आवश्यक प्रक्रिया अगाडि बढाउने छ,' उनले भने।
कार्यकारी निर्देशक काफ्लेले केही दिनअघि दश महिनाको अवधिमा भएका कामहरुको विषयमा जानकारी दिएका थिए। उनले यसअवधिमा स्थायी संगठन संरचना स्वीकृत भएको, कर्मचारी विनियमले निश्चित प्रकृया पुरा गरिसकेकाले पारित हुने क्रममा रहेको, विगतका वर्षहरुदेखि परीक्षण हुन नसकी थन्किएर बसेका करिब २ करोड दाबी समीक्षा सम्पन्न गरी भुक्तानी भएको, दाबी समीक्षा समयमा नहुँदा उत्पन्न समस्या हल गर्न दाबीमा अत्याधुनिक सूचना प्रविधिको प्रयोग आरम्भ भएको, प्रत्येक अघिल्लो महिनाको दाबी नयाँ महिनाको १५ गते भित्र परीक्षण गरी सक्न आधार तयार पारेको जानकारी दिएका थिए।
यसका साथै उनले बोर्डले चलाउदै आएको सफ्टवेयरलाई लिगेसी भर्सनबाट मोडुलर भर्सनमा स्तरोन्नती गरीएको, एआईको प्रयोग गरी दाबी परीक्षणलाई थप व्यवस्थित गर्ने अवस्था सिर्जना गरिएको, लेखा संचालनमा आधुनिक सफ्टवेयर प्रयोग गर्नुका साथै भुक्तानी प्रणालीमा ईएफटी प्रयोग गर्ने गरिएको, जिन्सी व्यवस्थित गर्न पिएएमएस प्रयोगमा ल्याइएको, बोर्डको हालसम्मको जिन्सी विवरण अध्यावधिक गर्न विशेष पहल लिई अधिकांश विवरण अध्यावधिक गरिएको, बिमितले बीचमा छाडने दरमा सुधार गरी व्यक्ति सधै बिमित नै रहिरहने अवस्था सुनिश्चित गर्न नवीकरण सम्बन्धि कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको, सूचना प्रविधि संचालन तथा व्यवस्थापन कार्यविधि तयार भएको, सेवा प्रदायक स्वास्थ्य संस्था सूचीकरण र नवीकरण तथा अनुगमन निर्देशिका तयार भएको, स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय स्थायित्व सुनिश्चित गर्नका लागि वित्तीय स्थायित्व रणनीतिक योजना तयार पारिएको, प्रिमियम र सेवा तथा वित्तीय प्रवन्ध व्यवस्थित गर्न प्रतिवेदन तयार पारिएको लगायतका काम गरेको जानकारी दिएका थिए।