दमक- झापाको दमकस्थित लाइफ लाइन अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको दुर्व्यवहार र हातपातको घटनाप्रति नेपाल चिकित्सक संघले कडा आपत्ति जनाएको छ।
२०८२ माघ ४ गते आइतबारका दिन अस्पतालको आकस्मिक (ईमर्जेन्सी) विभागमा सेवा दिइरहेका बेला केही व्यक्तिहरूको समूह भित्र पसी चिकित्सकमाथि आक्रमण गरेको हो। संघका आजीवन सदस्य समेत रहेका डा. आदित्य आनन्द यादवमाथि हातपात र गालीगलौज गरिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
नेपाल चिकित्सक संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'अस्पताल जस्तो संवेदनशील क्षेत्रमा सेवामा खटिएका चिकित्सकमाथि भएको यस्तो आपराधिक कार्यको संघ घोर भर्त्सना गर्दछ।' यस्ता घटनाले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको पेशागत सुरक्षामा आँच पुग्नुका साथै स्वास्थ्य सेवा प्रवाहमा समेत गम्भीर असर पर्ने संघको ठहर छ।
संघका महासचिव डा सन्जिब तिवारीद्वारा जारी विज्ञप्ति मार्फत संघले स्वास्थ्य संस्थालाई आतंकित पार्ने गरी घटाइएको यस आपराधिक घटनामा संलग्न दोषीहरूलाई अविलम्ब कानुनी दायरामा ल्याउन माग गरेको छ। संघले 'स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन, २०६६ (पहिलो संशोधन, २०७९)' बमोजिम दोषीमाथि कडा कारबाही गर्न र सुरक्षित एवं भयरहित वातावरणमा सेवा गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।