काठमाडौं- सरकारले निर्वाचन आचार संहिता लागू हुनुअघि स्वास्थ्य सेवाका उच्च अधिकारीहरूको जिम्मेवारी हेरफेर गर्ने क्रममा गण्डकी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी डा. युवानिधि बसौलालाई सुम्पेको छ।
गत २ माघमा बसेको मन्त्रिपरिषद् बैठकले टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकका रूपमा कार्यरत डा. बसौलालाई कामकाजमा रहने गरी गण्डकी प्रदेशको स्वास्थ्य सचिवका रूपमा खटाउने निर्णय गरेको हो।
यसअघि गण्डकी प्रदेशमा स्वास्थ्य सचिवका रूपमा कार्यरत डा. विश्व बन्धु बगालेलाई भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ।
मन्त्रिपरिषद्को सोही बैठकले स्वास्थ्य सेवाका अन्य दुई सहसचिवहरूको पनि जिम्मेवारी हेरफेर गरेको छ। जसअनुसार मधेश प्रदेशको स्वास्थ्य सचिवमा डा. रामआधार यादवलाई नियुक्त गरिएको छ भने मधेश प्रदेशकै मुख्यमन्त्री कार्यालयमा रहेका ओमप्रसाद अर्याललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खटाइएको छ।
स्वास्थ्य सेवासँगै सरकारले प्रशासन समूहका चार सहसचिवहरू केदारनाथ शर्मा, प्रदीप परियार, धर्मेन्द्रकुमार मिश्र र छविलाल रिजालको पनि सरुवा गरेको छ। निर्वाचनको पूर्वसन्ध्यामा गरिएको यस प्रशासनिक हेरफेरलाई अर्थपूर्ण रूपमा हेरिएको छ।