फाइल तस्बिर
काठमाडौं- मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्।
निर्वाचन आयोगको उजुरी र पत्राचारका आधारमा उनलाई पोखराबाट नियन्त्रणमा लिइएको हो।
प्रसाईंले हालै एक भिडियो सार्वजनिक गर्दै नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ बुझाएर चुनावी नतिजा आफ्नो पक्षमा पारेको गम्भीर आरोप लगाएका थिए। संवैधानिक निकायको निष्पक्षतामाथि नै प्रश्न उठाउने गरी भ्रामक अभिव्यक्ति दिएको ठहर गर्दै आयोगले उनीमाथि कानुनी कारबाहीका लागि सक्रियता देखाएको हो।
प्रहरीका दुई युनिट परिचालन आयोगले प्रसाईंको दाबीमाथि अनुसन्धान गर्न प्रहरीको साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर, काठमाडौंलाई औपचारिक पत्राचार गरेको थियो। सोही पत्राचारको आधारमा प्रहरीले प्रसाईंलाई पिछा गर्दै पोखराबाट नियन्त्रणमा लिन सफल भएको हो।
प्रहरीले दिएको जानकारी अनुसार प्रसाईंविरुद्ध मुख्य गरी दुईवटा कानुनी आधारमा कारबाही प्रक्रिया अघि बढाइने भएको छ। पहिलो निर्वाचन सम्बन्धी कसुर। जसअन्तर्गत निर्वाचनको स्वच्छता र आयोगको गरिमामा आँच पुर्याएको अभियोग रहेको छ। दोस्रो भनेको मुलुकी फौजदारी संहिता। यसमा झुटा प्रमाण र अफवाह फैलाएर सार्वजनिक शान्ति भंग गर्न खोजेको अभियोग रहेको छ।
प्रसाईंलाई काठमाडौं ल्याउने तयारी भइरहेको र थप अनुसन्धानका लागि प्रहरीले म्याद थपको प्रक्रिया अघि बढाउने बुझिएको छ।