काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि आज मनोनयन दर्ताको अन्तिम दिन राजनीतिक वृत्तमा पूर्व स्वास्थ्य मन्त्रीहरूको दाउपेच र क्षेत्र परिवर्तनको चर्चा चुलिएको छ। स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका विभिन्न दलका प्रभावशाली नेताहरू यसपटक नयाँ र पुराना क्षेत्रमा आफ्नो भाग्य परीक्षण गर्दैछन्।
स्वास्थ्य मन्त्रालयमा छोटो तर चर्चामा रहेको कार्यकाल बिताएका नेताहरू यसपटक पनि चुनावी मैदानमा अग्रपंक्तिमा छन्।
गगन थापाको 'सर्प्राइज' मुभ: काठमाडौं छाडेर मधेशतिर
यस निर्वाचनको सबैभन्दा रोचक पक्ष पूर्व स्वास्थ्य मन्त्री एवं नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको क्षेत्र परिवर्तन बनेको छ। लामो समयदेखि काठमाडौं ४ लाई आफ्नो राजनीतिक आधार बनाएका थापाले यसपटक मधेश झर्ने निर्णय गर्दै सर्लाही ४ बाट मनोनयन दर्ता गर्दैछन्। उनको यो कदमलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
प्रधानमन्त्रीका रुपमा चर्चामा रहेका थापाले मधेश प्रदेशको मत कांग्रेस तर्फ तान्न यसपटक मधेशबाट निर्वाचनमा होमिने निर्णय गरेको उनी निकट नेताहरु बताउँछन्।
प्रदीप पौडेल: निवर्तमान स्वास्थ्य मन्त्री पौडेलले नेपाली कांग्रेसको तर्फबाट पुनः काठमाडौँ क्षेत्र नं ५ बाटै निरन्तरता दिँदै उम्मेदवारी दर्ता गर्दैछन्।
पदम गिरी: एमालेका तर्फबाट स्वास्थ्य मन्त्री बनेका गिरीलाई पार्टीले पुनः उनको पुरानै क्षेत्र पर्वत १ मा विश्वास गरेको छ।
शेरबहादुर तामाङ: एमालेकै तर्फबाट स्वास्थ्य मन्त्रालयको अनुभव बटुलेका तामाङ सिन्धुपाल्चोक २ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने निर्णय भएको छ।
प्रदीप यादव: पूर्व स्वास्थ्य मन्त्री यादव भर्खरै जसपा छाडेर नेकपा एमालेमा प्रवेश गरेका छन्। एमालेले उनलाई पर्सा १ बाट चुनावी मैदानमा उतार्ने तयारी गरेको छ।
उपेन्द्र यादव: उपप्रधान तथा स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालिसकेका जसपा नेपालका अध्यक्ष यादवले भने आफ्नो पकड क्षेत्र मानिएको सप्तरी ३ बाटै उम्मेदवारी दिने निश्चित भएको छ।