काठमाडौं- लामो समय स्वास्थ्य पत्रकारितामा सक्रिय रहेका पत्रकार उद्धवराज भेटुवाल अब संसदीय राजनीतिको चुनावी मैदानमा उत्रिएका छन्। आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उनलाई काठमाडौँ क्षेत्र नं ६ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो।
राप्रपाको केन्द्रीय सदस्य समेत रहेका भेटुवालले मंगलबार दिउँसो २ बजे निर्वाचन कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गर्ने तयारी गरेका छन्।
न्युज २४ र कान्तिपुर जस्ता प्रतिष्ठित टेलिभिजन च्यानलहरूमा काम गरिसकेका भेटुवाल स्वास्थ्य पत्रकारितामा स्थापित नाम हो। हाल स्वास्थ्य डायरी डटकममा आबद्ध उनी स्वास्थ्य पत्रकार मञ्च नेपालका सल्लाहकार समेत हुन्।
उनको उम्मेदवारीलाई बौद्धिक वर्ग र सञ्चारकर्मीहरूले चासोका साथ हेरेका छन्। पत्रकारितामार्फत समाजका समस्या उजागर गर्दै आएका भेटुवाल अब आफैँ नीति निर्माण तहमा पुग्ने लक्ष्यका साथ चुनावी प्रतिस्पर्धामा होमिएका हुन्।
भेटुवालले वर्तमान राजनीतिक व्यवस्थाका आधारभूत स्तम्भहरू संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामाथि खरो प्रश्न उठाउँदै आएका छन्। राप्रपाको मूल एजेन्डालाई दृढतापूर्वक बोक्ने उनी आफ्नो जितको मुख्य आधार नै विचारको स्पष्टता भएको बताउँछन्।
'अहिलेको व्यवस्थाले जनतामा निराशा मात्रै पैदा गरेको छ। संघीय गणतन्त्र र धर्मनिरपेक्षता जस्ता विषयमा राप्रपाले राख्दै आएको फरक मत नै आम जनताको वास्तविक आवाज हो,' भेटुवाल भन्छन्, 'हाम्रो स्पष्ट विचार र योजना नै यो निर्वाचनमा जितको सुनिश्चितता हो।'