काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामो समयदेखि जिम्मेवारीविहीन राखिएका डा. चुमनलाल दासलाई महत्वपूर्ण विभागको कमाण्ड सुम्पिएको छ। स्वास्थ्य मन्त्री डा. सुधा गौतम शर्माले गत माघ ४ गते मन्त्रीस्तरीय निर्णय गर्दै डा. दासलाई मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाको प्रमुखको जिम्मेवारी दिएकी हुन्।
नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) बाट मन्त्रालय तानिएर 'जगेडा' मा रहेका डा. दासले बिहीबारदेखि विधिवत रूपमा आफ्नो कार्यभार सम्हालेका छन्। मन्त्रालयको मेरुदण्ड मानिने यस महाशाखामा उनको आगमनलाई मन्त्रालयभित्रै अर्थपूर्ण रूपमा हेरिएको छ।
यसअघिका महाशाखा प्रमुख डा. कृष्ण पौडेललाई भने स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएर पठाइएको छ।