काठमाडौं - जनस्वास्थ्य कार्यालय ललितपुरले माघ १२ गते महाँकाल गाउँपालिका ६ मा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दैछ।
ठूलादुर्लङ्ग कपिरामस्थित बागमति आधारभूत विद्यालयमा बिहान ८ देखि दिउँसो १ सम्म शिविर सञ्चालन गरिने कार्यालयले जनाएको छ।
शिविरमा ३० वर्षमाथिका महिलाहरुको एपपिभी डीएनए विधिद्वारा पाठेघरको मुखको क्यान्सर, महिलाको प्रजनन् स्वास्थ्य सम्बन्धी परीक्षण, स्तन क्यान्सरको पहिचान गर्न प्रारम्भिक परीक्षण गरिनेछ।
यस्तै, पाठेघर, स्तनको अल्ट्रासाउण्ड, भिडियो एक्सरे, सन्तानको रहर पुगेका दम्पतीका लागि पुरुषको निमित्त स्थायी बन्ध्याकरण भ्यासेक्टोमी, महिलामा इम्प्लान्ट र आईयुसिडी परिवार नियोजन सेवा सहित सुगर, प्रेसर, मिर्गौला रोग जस्ता नसर्ने रोगको परीक्षण गरिने कार्यालयले जनाएको छ। स्थानीयहरुलाई शिविरबाट सेवा लिएर मौकाको फाइदा उठाउन कार्यालयको आग्रह छ।