भाइरल रोगहरू जस्तै एभियन फ्लु, स्वाइन फ्लु, मर्स कोभ, सार्स, इबोला, जिका, कोभिड-१९ आदिका विगत र निरन्तर देखिएका प्रकोपले विश्वसहित नेपालमा पनि जनचेतना र स्वास्थ्य सतर्कताको आवश्यकता प्रष्ट पार्दै आएका छन्। हालै जनमानसमा सुनिएको निपाह भाइरस एक अत्यन्तै घातक र उदीयमान जुनोटिक रोग हो, जसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले महामारी फैलन सक्ने प्राथमिकता प्राप्त रोगको सूचीमा राखेको छ।डब्लुएचओका अनुसार यसको मृत्यु दर ४०–७५ प्रतिशतसम्म पुग्न सक्छ।
छिमेकी राष्ट्रहरू भारत, बंगलादेश र मलेसियामा बारम्बार निपाह भाइरसका प्रकोप देखिएका छन्, जसले दक्षिण एसियाली क्षेत्र उच्च जोखिममा रहेको स्पष्ट संकेत दिन्छ। हालसम्म यस भाइरसविरुद्ध कुनै प्रमाणित खोप वा निश्चित उपचार उपलब्ध छैन। खुला सीमा, फलफूल खाने चमेराको उपस्थिति, पशु–मानिस नजिकको सम्पर्क र सीमित रोग निगरानी प्रणालीका कारण नेपाल पनि जोखिमबाट अछुतो नरहला भन्न सकिँदैन। त्यसैले डब्लुएचओ र सिडिसीका चेतावनीलाई ध्यानमा राख्दै, नेपालले समयमै सतर्कता, जनचेतना अभिवृद्धि, र स्वास्थ्य पूर्वतयारीलाई प्राथमिकतामा राख्नु अत्यावश्यक छ।
निपाह भाइरस भनेको के हो?
निपाह भाइरस एकल स्ट्रेन्ड, नेगेटिभ-सेन्स आरएनए भाइरस हो, जुन Paramyxoviridae परिवारको Henipavirus वंशमा पर्छ। यसको आरएनए जीनोम करिब १८ kb लामो हुन्छ र N, P, M, F, G, र L जीनहरू रहेका छन्। N, P, र L प्रोटिनहरूले आरएनएसँग जोडेर ribonucleoprotein बनाउँछन्, M प्रोटिन एसेम्ब्लीमा भूमिका खेल्छ, र P जीनबाट बन्ने C, V, W प्रोटिनले रोगजनकता बढाउँछन्। F र G प्रोटिनहरूले भाइरसलाई कोषमा प्रवेश गराउँछन्।
पहिलो मानव संक्रमण सन् १९९८ मा पहिचान भएको थियो। भाइरसको नाम मलेसियाको पोर्ट डिक्सन, Negeri Sembilan स्थित Sungai Nipah (“Nipah River”) गाउँबाट आएको हो, जहाँ पहिलो मानव केसबाट NiV अलग गरिएको थियो।
यो भाइरस कहाँबाट र कसरी फैलिन्छ?
• फलफूल खाने चमेरा: चमेराको लार, मूत्र वा थुकले फलफूल, खजुरको रस वा अन्य खानेकुरा प्रदूषित गर्दा मानिसले छुँदा वा खाँदा संक्रमण हुन सक्छ। चमेराका प्रमुख प्रजातिहरूमा Pteropus giganteus, Pteropus vampyrus, र Pteropus lylei पर्दछन्।
• संक्रमित जनावरबाट: सुँगुर जस्ता मध्यवर्ती जनावरमा भाइरस हुँदा त्यसलाई छुँदा वा मासु प्रशोधन गर्दा मानिसमा सर्न सक्छ।
• मानिस–मानिस सर्ने: संक्रमित व्यक्ति खोक्दा, हाच्छ्यु गर्दा वा नजिकको सम्पर्कमा भाइरस अर्को व्यक्तिमा सर्छ।
• संक्रमित वस्तुबाट सर्ने: संक्रमित जनावर वा मानिसले प्रयोग गरेका बस्तु (कपडा, उपकरण, खाना) मार्फत पनि संक्रमण हुन सक्छ।
• श्वसन मार्गबाट सर्ने: भाइरस हावा वा साना सुस्केरा मार्फत शरीरमा प्रवेश गर्न सक्छ।
यसरी चमेरा, मध्यवर्ती जनावर (सुँगुर) र मानिसबीचको नजिकको सम्बन्धले निपाह भाइरसको संक्रमणलाई सजिलो बनाउँछ।
मानिसमा देखिने मुख्य लक्षणहरू के-के हुन्छन्?
| वर्ग |
विवरण
|
| सुरुवाती लक्षण |
ज्वरो, टाउको दुखाइ, मांसपेशी दुखाइ (Myalgia)
वान्ता, खोकी, सास फेर्न गाह्रो, घाँटी दुखाइ
|
| गम्भीर लक्षण |
टाउको घुम्ने ,निद्रालु / सुस्तपन ,चेतनामा परिवर्तन ,तीव्र मस्तिष्क सुन्निने ,असामान्य निमोनिया ,गम्भीर सास फेर्न गाह्रो ,झट्का / दौरा |
| संक्रमण देखापर्ने सम्मको समय |
लक्षण देखापर्न सामान्यतया ४–१४ दिन लाग्छ, तर कहिलेकाहीँ ४५ दिनसम्म पनि हुन सक्छ । |
निपाह भाइरस किन घातक मानिन्छ?
निपाह भाइरस अत्यन्तै प्राणघातक मानिन्छ किनभने यसको मृत्यु दर ४०–७५ प्रतिशतसम्म पुगेको छ र हालसम्म कुनै निश्चित उपचार वा खोप उपलब्ध छैन। सिडिसीले यसलाई क्याटोगोरी सी एजेन्ट को रूपमा वर्गीकृत गरेको छ भने डब्लुएचओले यसलाई भविष्यका महामारीको सम्भावना बोकेको रोगको सूचीमा राखेको छ। निपाह भाइरसको पहिलो प्रकोप सन् १९९८ मा मलेसियामा सुँगुर र सुँगुर किसानहरूमा देखिएको थियो, जसमा २६५ संक्रमितमध्ये १०८ जनाको मृत्यु भएको थियो।हाम्रो छिमेकी देश बंगलादेशमा (२०२३) ११ केसमध्ये ८ जनाको मृत्यु भएको पहिचान भएको थियो। भारतको केरला र पश्चिम बंगालमा २०२१–२०२५ बीच नियमित प्रकोप देखिएका छन्; केरलामा १७ मे–१२ जुलाई २०२५ मा चार पुष्टि भएका केसमध्ये दुई जनाको मृत्यु भएको थियो।
नेपालमा निपाह भाइरसको जोखिम र सतर्कता आवश्यक किन?
नेपाल पनि निपाह भाइरसको जोखिमबाट पूर्ण रूपमा सुरक्षित छैन। हाम्रो छिमेकी देशहरू भारत, बंगलादेश र मलेसियामा बारम्बार प्रकोप देखिएका छन्, र खुला सीमा, विश्वव्यापी यात्रा तथा व्यापारले संक्रमण फैलिन सजिलो बनाउँछ। सीमित रोग निगरानी र प्रारम्भिक परीक्षणको अभावले भाइरस सजिलै प्रवेश गर्न सक्छ। ग्रामीण क्षेत्रमा सुँगुरपालन, फलफूलका रुख र चमेराको उपस्थितिले मानिस, जनावर र प्राकृतिक स्रोतबीच नजिकको सम्पर्क सिर्जना गर्छ, जसले भाइरसको फैलावटलाई सहयोग पुर्याउँछ।
नेपालले निपाह भाइरसबाट सुरक्षित रहन विशेष सतर्कता अपनाउन आवश्यक छ। हालसम्म यस भाइरसको प्रभावकारी उपचार वा खोप उपलब्ध छैन, र डब्लुएचओले यसलाई प्राथमिकता रोगको रूपमा सूचीबद्ध गरेको छ। उच्च जनसंख्या घनत्व, गाउँघरमा सुँगुर पालन र फलफूल खाने चमेरा नजिकको उपस्थितिले संक्रमणको सम्भावना बढाउँछ। जंगल कटान, कृषि विस्तार र आवास विकासले चमेरा र मानिसबीच सम्पर्क बढाउँछ। जलवायु परिवर्तन, अत्यधिक तातो, सुख्खा वा बाढीले चमेरालाई मानव बस्तीमा ल्याउँछ, जसले संक्रमण फैलिन सजिलो बनाउँछ। कमजोर आर्थिक अवस्था, सीमित स्वास्थ्य पूर्वतयारी र कम जनचेतना भएका क्षेत्रहरूमा प्रकोपको प्रभाव अझ गहिरो हुन्छ।
संक्रमणबाट बच्न सर्वसाधारणले के–के सावधानी अपनाउनुपर्छ?
• फलफूल र रसको सुरक्षा: चमेराले छोएको फलफूल वा खजुरको रस काच्चै नखानुहोस्, नपिउनुहोस्, फलफूल राम्ररी धोएर मात्र सेवन गर्नुहोस्।
• जनावरसँग सावधानी: सुँगुर र अन्य घरेलु जनावरसँग नजिकको सम्पर्कबाट बच्नुहोस्। जनावरको मासु सुरक्षित तरिकाले पकाएर मात्र खानुहोस्।
• व्यक्तिगत स्वास्थ्य सुरक्षा: संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्क, खोक्दा वा हाच्छ्यु हुँदा नजिक नजानुहोस्। मास्क र अन्य सुरक्षात्मक उपाय प्रयोग गर्नुहोस्।
• संक्रमित वस्तुबाट बच्नु: संक्रमितले प्रयोग गरेका कपडा, उपकरण वा खाना सँगको सम्पर्कबाट बच्नुहोस्।
• सफाइ र हातधुने अभ्यास: नियमित रूपमा साबुनपानी वा सेनिटाइजरले हात धुनुहोस्।
• जनचेतना र जानकारी: निपाह भाइरसका लक्षण र जोखिमबारे जानकारी राख्नुहोस् र स्वास्थ्य सम्बन्धी अधिकारीको निर्देशन पालना गर्नुहोस्।
निपाह भाइरस (NiV) को प्रयोगशाला निदान के–के हुनसक्छन् ?

उपचार र रोकथाम के–के उपलब्ध छन्?
हालसम्म निपाह भाइरस (NiV) को लागि निश्चित औषधि वा खोप उपलब्ध छैन, त्यसैले संक्रमितको उपचार मुख्य रूपमा सहायक उपचारमा आधारित हुन्छ। जस्तै:
• तरल र इलेक्ट्रोलाइट सन्तुलन: शरीरमा पानी र इलेक्ट्रोलाइटको उचित सन्तुलन कायम राख्नु।
• श्वास नली सुरक्षा: आवश्यकता अनुसार mechanical ventilation प्रयोग।
• रक्त नलीमा थ्रम्बोसिस रोकथाम।
• संक्रमण नियन्त्रण: broad-spectrum antibiotic प्रयोग।
केही antiviral औषधिहरू जस्तै Ribavirin, Acyclovir, Favipiravir परीक्षणमा छन्, तर पूर्ण प्रमाणित निष्कर्ष छैन।
Monoclonal antibodies (m102.4): Phase I trial सफल भइसकेको छ; early intervention र post-exposure prophylaxis मा सहयोगी।
Vaccines: १० भन्दा बढी खोप परीक्षणमा छन्। प्रमुख खोपहरूमा recombinant Hendra G-glycoprotein (HeV-sG) र ChAdOx1 NipahB Phase II trial मा छन्।
निष्कर्ष
डब्लुएचओले NiV लाई प्राथमिकता रोगमा राखेको छ र R&D Blueprint मार्फत यसको निदान, उपचार र खोप विकासमा जोड दिएको छ। NiV अत्यन्त घातक जुनोटिक रोग भएकाले मानिस र जनावर दुवै सजिलै संक्रमित हुन सक्छन्। नेपाल खुला सीमासहित भारतसँग जोडिएको भएकाले जोखिम उच्च छ, त्यसर्था सावधानीका सम्पूर्ण उपायहरू लागू गर्नु नै उचित देखिन्छ। विशेषगरी संक्रमण फैलाउन चमेरा, संक्रमित सुँगुर, दूषित खजुरको रस र मानिस–मानिस सम्पर्क मुख्य मार्ग हुन्। यसको संक्रमण जाल तोड्नु आवश्यक छ। विगतमा कोभिड-१९ महामारीबाट सिकेका पाठ अनुसार छिटो पहिचान, परीक्षण, सम्पर्क ट्रेसिङ, मास्क प्रयोग र हातधुने अभ्यासलाई जोड दिनु अत्यन्त महत्वपूर्ण रहन्छ।
वान हेल्थ दृष्टिकोणले NiV को फैलावट रोक्न महत्वपूर्ण भूमिका खेल्छ, किनभने यसले मानव स्वास्थ्य, जनावर स्वास्थ्य र पर्यावरणीय स्वास्थ्यलाई एकैसाथ समेट्ने बहु–क्षेत्रीय तथा अन्तर–अनुशासनिक स्वास्थ्य रणनीतिहरूलाई समावेश गर्छ; तसर्थ यसको प्रभावकारी कार्यान्वयन अत्यावश्यक छ।”
-(राम बहादुर खड्काले एमएस्सी मेडिकल ल्याबोरेटरी टेक्नोलोजी–माइक्रोबायोलोजी अध्ययन गरेका छन्। उनी हाल क्रिमसन कलेज अफ टेक्नोलोजी, बुटवलमा कार्यरत छन्।)