काठमाडौं - सर्लाहीको मलंगवामा आजदेखि दादुरा विरुद्धको खोप अभियान सुरु भएको छ। मलंगवा नगरपालिकाको वडा नं २, ३, ४, ८, ९ र १० गरी ६ वटा वडामा दादुरा विरुद्धको खोप अभियान सुरु भएको हो।
पाँच दिनसम्म चल्ने खोप अभियानमा ६ महिनादेखि १४ वर्ष उमेरका ८ हजार बालबालिकालाई खोप दिन लागिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साहले जानकारी दिए।

उनका अनुसार आजदेखि चार दिनसम्म विद्यालय र मदरासामा खोप केन्द्र सञ्चालन गरी खोप दिइनेछ। पाँचौ दिनमा स्वास्थ्य संस्थामा खोप दिइने उनले बताए।
मलगंवा नगरपालिकाको वडा नं ३ मा फैलिएको दादुरा संक्रमणबाट हालसम्म ७ जनामा पुष्टि भएको छ। शंकास्पद २३ बिरामीमध्ये परीक्षणका क्रममा ७ जनामा पुष्टि भएको उनले जानकारी दिए।
हाल भने संक्रमण फैलिने दर नियन्त्रणमा रहेको उनले बताए। संक्रमण फैलिन नदिन गाउँ-गाउँ, घर-घरमा शंकास्पद बिरामीको खोज पड्ताल तथा निगरानी गरिरहेको उनले बताए। खोप अभियानमा आफ्ना बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउन नगरपालिकाले सबैमा आग्रह गरेको छ।

पुस २२ गते पहिलो पटक शंकास्पद बिरामी भेटिएको थियो। प्रयोगशाला परीक्षणका त्रममा माघ ११ मा दादुरा पुष्टि भएको हो। हालसम्म कुनै पनि बिरामी अस्पताल भर्ना तथा मृत्यु नभएको परिवार कल्याण महाशाखाले जनाएको छ।
