काठमाडौं - राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लुम्बिनी प्रदेशमा ‘विपद् जोखिम न्यूनीकरण लुम्बिनी प्रदेश कार्यमञ्च’ गठन गरेको छ।
दाङको देउखुरीमा आयोजित एक कार्यक्रमका प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवको अध्यक्षतामा कार्यमञ्च गठन गरिएको हो।
उक्त कार्यमञ्चमा सरकारी निकाय, सार्वजनिक संस्थान तथा अर्धसरकारी निकाय, प्राज्ञिक तथा अनुसन्धानमूलक, विकास साझेदार तथा संयुक्त राष्ट्र संघीय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, राष्ट्रिय गैरसरकारी संस्था, व्यावसायिक प्रतिष्ठान नीजि क्षेत्र, सूचना प्रविधि तथा सञ्चार र विपद् प्रभावित समूह गरी ९ वटा समूहहरु छन्।
प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले लुम्बिनी प्रदेशबाट सुरु गरिएको कार्यमञ्च बाँकी प्रदेशहरुमा पनि गठन गरिने बताए। उक्त कार्यमञ्चले सम्बन्धित प्रदेशमा विपद् व्यवस्थापनका लागि विभिन्न निकायसँग समन्वय र सहकार्य गरी काम गर्ने प्राधिकरणले जनाएको छ।