सिरहा- लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको शवगृहबाट एक किशोरीको शव अर्कै परिवारको हातमा पुगेको तथ्य बाहिर आएको छ। घटनापछि पीडित परिवारले आफ्नी छोरीको शव माग्दै र अस्पतालका जिम्मेवार कर्मचारीमाथि कारबाहीको माग गर्दै सोमबार दिउँसोदेखि पूर्व–पश्चिम राजमार्गको गोलबजार खण्ड अवरुद्ध गरेका छन्।
सिरहाको गोलबजार नगरपालिका–३, जम्दहकी १६ वर्षीया निशा बानियाँ गत शनिबार आफ्नै घरमा मृत भेटिएकी थिइन्। प्रहरीले प्रारम्भिक प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि उनको शव लहानस्थित मुरारका प्रादेशिक अस्पताल पठाएको थियो। सोही दिन सप्तरीको खडक नगरपालिका–१ करर्बोना निवासी १६ वर्षीया राधिका साहको शव पनि पोस्टमार्टमका लागि त्यही अस्पतालको शवगृहमा राखिएको थियो।
पोस्टमार्टमपछि अस्पतालले एउटा शव राधिकाको भन्दै उनका आफन्तलाई जिम्मा लगायो। आफन्तले शव घर नलगी लहान नजिकैको बलान खोला किनारमै अन्त्येष्टि गरिसके। तर, वास्तविकता भने फरक रहेछ।
निशाको परिवार वैदेशिक रोजगारीका कारण भारतको मुम्बइमा थियो। छोरीको मृत्युको खबर पाएपछि सोमबार बिहान मात्र नेपाल फर्किएका आमा–बुबा दिउँसो पोस्टमार्टमका लागि अस्पताल पुगे। शव देखाउने क्रममा उनीहरूले त्यो शव आफ्नी छोरीको नभएको बताएपछि अस्पतालभित्र हतास अवस्था सिर्जना भयो। जाँच गर्दा शव राधिका साहको भएको पुष्टि भयो।
यस घटनाले अस्पतालको शव व्यवस्थापन प्रणालीमा गम्भीर कमजोरी उजागर गरेको छ। सुरुमा अस्पताल प्रशासनले निशाकै परिवारले शव बुझिसकेको दाबी गर्दै जिम्मेवारी पन्छिन खोजे पनि पीडित पक्षले आफूहरू सोमबार मात्रै भारतबाट आएको प्रमाणसहित बताएपछि अस्पतालले आफ्नो त्रुटि स्वीकार्न बाध्य भयो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले पोस्टमार्टम गरिदिनु अस्पतालको जिम्मेवारी भए पनि शवगृहमा शव पहिचानका लागि ‘कोडिङ’ प्रणाली लागू हुनुपर्ने बताए। तर, सो अस्पतालमा यस्तो प्रणाली प्रयोगमा नरहेको उनले स्वीकार गरे। 'कोडिङ नै नगर्दा यस्तो अवस्था आएको हो,' उनको भनाइ छ।
अस्पताल सञ्चालक समिति अध्यक्ष रामनारायण मेहताले शव बुझ्ने प्रक्रियामा अस्पताल र आफन्त दुवै पक्षबाट कमजोरी भएको उल्लेख गर्दै संस्थागत लापरबाही भएको स्वीकार गरे।
घटनासँग सम्बन्धित विषयमा इलाका प्रहरी कार्यालय लहानले राधिका साहका दुई जना आफन्तलाई नियन्त्रणमा लिएको छ। घटनाको गहिरो अनुसन्धानपछि दोषीमाथि आवश्यक कारबाही अघि बढाइने सिरहा प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिएका छन्।