बागलुङ- स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले सरकारले संचालन गरेको स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारीका साथै सफल बनाउने प्रदेश र स्थानीय सरकारको योगदान हुनेपर्ने बताइन्।
मंगलबार बागलुङको धौलागिरी प्रादेशिक अस्पतालको निरीक्षण पश्चातको कार्यक्रममा बोल्दै मन्त्री शर्माले बीमा कार्यक्रमलाई प्रदेश सरकार र स्थानीय सरकारको लगानी भएन भने यसलाई प्रभावकारी ढंगले संचालन गर्न कठिनाई हुने बताइन्। उनले संघीय सरकारको मात्र बजेटले बीमा कार्यक्रमका लागि बजेट अपुग हुने हुँदा तीन तहकै सहलगानी हुन आवश्यक रहेको बताइन्।
अहिले पनि थुप्रै अस्पतालले स्वास्थ्य बीमाको बजेट नपाएको गुनासो आइरहेको बताउँदै सरकारसँग बजेट अभाव भएकै कारण भुक्तानी दिन कठिनाई भएको बताइन्।
शर्माले अब बीमा कार्यक्रमलाई सफल बनाउन गुलियो पेय पदार्थमा पनि करको दायारा बढाएर बीमामा नै लागुगर्नेमा जोड दिइन्। ‘हिजो बीमाकै लागि भनेर सुर्तीजन्य र मदिराजन्य पदार्थमा करको दायारा बढाइएको थियो । अब गुलीयो पेय पदार्थमा पनि करको दायारा बढाउनुपर्छ,’ मन्त्री शर्माले भनिन् ‘हामी यस विषयमा छलफलमा छौं।’
उनले आगामी बजेटमा प्रदेश सरकार र स्थानीय सरकारले स्वास्थ्य बीमाका लागि पनि रकम विनियोजन गर्न आग्रह गरिन । उनले जनतालाई स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउनका लागि अहिलेको सरकारले निरन्तर पहल गरिरहेको जानकारी दिइन्।
मन्त्री शर्माले गण्डकी प्रदेशले डिजिटल स्वास्थ्यमा राम्रो काम गरेको हुँदा अन्य प्रदेशले पनि यसको अनुसरण गर्नुपर्नेमा जोड दिइन्।
‘गण्डकी प्रदेशले इएमआर, गर्भवती दर्ता तथा अनुगमन कार्यक्रम, इएचआईएमएस, पारिवारिक स्वास्थ्य प्रोफाईल जस्ता कार्यक्रम मार्फत डिजिटल हेल्थका कार्यक्रमलाई अगाडि बढाएको रहेछ,’ शर्माले भनिन् ‘यसलाई हामी अन्य प्रदेशलाई पनि अनुसरण गर्न आग्रह गर्छौं, अहिलेको युगसँगै स्वास्थ्य क्षेत्र पनि परिवर्तन आवश्यक रहेको छ।’