काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
रुघा, खोकी, ज्वरो तथा सास फेर्न गाह्रो भएपछि नेता नेपाल बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका थिए। त्रिवि शिक्षण अस्पतालमा सिंगल क्याबिनको बेड उपलब्ध नभएकाले उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा राखी उपचार भइरहेको छ।
यसअघि पनि दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी समस्या देखिएकाले हाल अवस्था जटिल बनेपछि अस्पताल भर्ना गरिएको त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्त कुमार दासले जानकारी दिए।
डा. दासका अनुसार निमोनियाका कारण नेता नेपालको छातीमा संक्रमण देखिएको छ। “केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्छ,” उनले भने, “कम्तीमा ७२ घन्टा अस्पतालमा राखेर उपचार गरिनेछ।”
७२ घन्टासम्म इन्जेक्सनमार्फत औषधि दिइने र उपचारपछि एक साताभित्र फलोअपमा आउने गरी डिस्चार्ज गरिने योजना रहेको डा. दासले बताए। अवस्था सुधार भए शनिबार बेलुकासम्म डिस्चार्ज गरिने सम्भावना रहेको पनि उनले जानकारी दिए।
डा. दासका अनुसार अधिकांश अवस्थामा भाइरल संक्रमण तथा वायु प्रदूषणका कारण निमोनियाको समस्या देखिने गर्दछ।