काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री सुधा शर्मा गौतमले नर्स तथा बिरामीको हकहितका लागि १ सय शय्याका अस्पतालले पिसिएल नर्सिङ पढाउन पाउनुपर्ने बताएकी छन्।
नर्सिङ दिवसको अवसरमा नेपाल नर्सिङ संघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री गौतमले १ सय शय्या भएका अस्पतालले पिसिएल नर्सिङको पढाइ गर्नुपर्छ भन्दै ऐनको मस्यौदा संशोधनको प्रस्ताव शिक्षा मन्त्रालयमा पठाएको बताएकी हुन्।
नेपालका दूरदराजमा काम गरिरहेका जनशक्ति चाहिँदैन भन्नु उनीहरुको अपमान भएको मन्त्री गौतमको धारणा छ। पिसिएल पढ्न पाउनुपर्छ भन्नेमा आफ्नो प्रष्ट निर्देशन रहेको उनको दाबी समेत छ।
यसलाई अझै थप प्रभावकारी रुपमा अगाडि बढाउन आफू लागिपर्ने उनले बताइन्। सामान्य उपचार सेवा पिसिएल नर्सहरुले दिइरहेको तथा सिटीइभिटीबाट पढाइ पनि भइरहेको मन्त्री गौतमले बताइन्। यस्तो अवस्थामा १ सय बेड भएका अस्पतालले पढाइ गर्न पाउनुपर्ने उनको जिकिर छ।
ऐनमा सर्टिफिकेट स्तरको पढाइ १० वर्षपछि हटाउने भन्ने व्यवस्था रहेकोमा आफूले व्यक्तिगत रुपमा उक्त ऐन संशोधनको प्रस्ताव पठाएको मन्त्री गौतमको दाबी छ।