धरान- शहिद दिवसको अवसर पारेर धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तर–मेडिकल कलेज महोत्सव साइन्याप्स २०२६ को भव्य शुभारम्भ गरिएको छ। सात दिनसम्म सञ्चालन हुने यस महोत्सवमा खेलकुद, साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरू समेटिएका छन्, जसमा नेपालभरिका विभिन्न मेडिकल कलेजका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको छ।
महोत्सवको पहिलो दिन मानसिक स्वास्थ्य प्रवर्द्धनलाई केन्द्रमा राख्दै बिहान ५:३० बजेदेखि जनचेतनामूलक पदयात्रा आयोजना गरिएको थियो। उक्त पदयात्रामा प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सन्जिव कुमार शर्मा, शैक्षिक डिन प्रा.डा. अनुप घिमिरेसहित शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
पदयात्रापश्चात आयोजित औपचारिक उद्घाटन समारोहमा प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठ, शिक्षाध्यक्ष सन्जिव कुमार शर्मा, रजिस्ट्रार सूर्य प्रसाद संग्रौला, अस्पताल निर्देशक डा. जगत नारायण प्रसादलगायत पदाधिकारी, विभागीय प्रमुख, प्राध्यापक, शिक्षक, कर्मचारी तथा विभिन्न मेडिकल कलेजबाट पाल्नुभएका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
खेलकुदतर्फ, क्रिकेटको पहिलो खेलमा घरेलु टोली वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ब्लु र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो, जसमा घरेलु टोली विजयी भयो। दोस्रो क्रिकेट खेलमा नोबेल मेडिकल कलेज ले विराट मेडिकल कलेज लाई पराजित गर्यो।
त्यसैगरी पुरुष भलिबलको पहिलो खेलमा वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्पाइकर ले विराट मेडिकल कलेजमाथि जित हात पार्यो। फुटबलतर्फको पहिलो खेलमा वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अल्बा ले चितवन मेडिकल कलेजलाई पराजित गर्यो।
बास्केटबलको पहिलो खेलमा वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेड लाई स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्स (एसएचएएस) ले हरायो भने दोस्रो खेलमा नेपालगन्ज मेडिकल कलेज तथा टिचिङ अस्पताल ले चितवन मेडिकल कलेजमाथि जित निकाल्यो।
महोत्सवको पहिलो दिनको समापन साँझ र्याम्प वाक सहित विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आकर्षक प्रस्तुतिसँगै गरिएको थियो। साइन्याप्स २०२६ ले आगामी दिनहरूमा थप प्रतिस्पर्धात्मक खेल तथा सिर्जनात्मक गतिविधिहरूमार्फत विद्यार्थीहरूबीच आपसी सहकार्य, मित्रता र प्रतिभा प्रदर्शनको सशक्त मञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ।