काठमाडौँ- भारतमा निपाह भाइरसको संक्रमण बढेपछि नेपालमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै इपिडियोलोजी तथा डिजिज कन्ट्रोल डिभिजनले नमुना संकलन र परीक्षणका लागि अन्तरिम निर्देशिका सार्वजनिक गरेको छ। निर्देशिकाअनुसार ज्वरोसँगै श्वासप्रश्वासमा गम्भीर समस्या देखिएका, चेतनास्तरमा परिवर्तन भएका वा निपाह प्रभावित क्षेत्रको यात्रा इतिहास भएका व्यक्तिलाई ‘शंकास्पद निपाह केस’का रूपमा वर्गीकृत गरिनेछ।
निर्देशिकामा संक्रमित जनावर, विशेषगरी फलफूल चमेरासँगको सम्पर्क, काँचो खजुराको रस सेवन, वा बंगलादेश, पश्चिम बंगाल तथा भारतको केरलाजस्ता निपाह प्रभावित क्षेत्रको यात्रा हिस्ट्री भएमा विशेष सतर्कता अपनाउन भनिएको छ। यस्ता लक्षणसहित मृत्यु भएको वा गम्भीर अवस्थामा पुगेका व्यक्तिलाई ‘सम्भावित निपाह केस’ मानिनेछ, विशेषगरी यदि उनी पुष्टि भएका निपाह संक्रमितको सम्पर्कमा आएका भएमा त्यस्तो मानिने बताइएको छ।।
निर्देशिकाअनुसार शंकास्पद तथा सम्भावित केसलाई तुरुन्तै आइसोलेसन सहित अस्पताल भर्ना गरिनेछ र स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रयोग गर्नेछन्। साथै, रोग नियन्त्रण महाशाखा (ईडीसीडी) र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) लाई विस्तृत केस अनुसन्धानका लागि जानकारी गराइनेछ।
नमुना संकलन गर्दा घाँटीको स्वाब, रगत, पिसाब तथा आवश्यक परे सीएसएफ संकलन गरिनेछ। संकलित नमुनालाई जैविक सुरक्षाका मापदण्ड पालना गर्दै २–८ डिग्री सेल्सियस तापक्रममा ‘ट्रिपल प्याकेजिङ’ मार्फत एनपीएचएल पठाइने व्यवस्था गरिएको छ।
एनपीएचएलमा उच्च सुरक्षा प्रयोगशालामा नमुना प्रशोधन गरी निपाह भाइरसको रियल–टाइम पीसीआर परीक्षण गरिनेछ। परीक्षणमा नतिजा सकारात्मक आएमा प्रारम्भिक केसका लागि केन्द्रीय प्रयोगशालामा पुनः पुष्टि परीक्षण गरिनेछ। नकारात्मक नतिजा आएमा पिसाबको थप परीक्षण तथा अन्य सम्भावित रोग (जस्तै लेप्टोस्पाइरोसिस, स्क्रब टाइफस र केन्द्रीय स्नायु प्रणालीसम्बन्धी संक्रमण)को पनि परीक्षण गरिनेछ।
स्वास्थ्य अधिकारीहरूका अनुसार यो अन्तरिम निर्देशिकाले समयमै निपाह भाइरसको पहिचान र नियन्त्रणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ। जनस्वास्थ्य सुरक्षाका लागि सतर्कता अपनाउन र शंकास्पद लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।