काठमाडौँ- अब स्वास्थ्य सेवा अस्पतालमै सीमित रहने छैन। काठमाडौँ महानगरपालिकाले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक अभिभावकहरूका लागि घरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रम आजबाट सुरु गरेको छ।
उपमेयर सुनिता डंगोलका अनुसार असक्त, अशक्त वा नियमित रूपमा अस्पताल पुग्न कठिनाइ हुने जेष्ठ नागरिकलाई लक्षित गर्दै यो सेवा सुरु गरिएको हो। कार्यक्रमअन्तर्गत घरमै पुगेर स्वास्थ्य सर्वेक्षण, नियमित स्वास्थ्य परीक्षण, रोग पहिचान, आवश्यक औषधि वितरण, स्वास्थ्य परामर्श तथा स्वास्थ्य प्रवर्द्धनसम्बन्धी सहजीकरण गरिनेछ।
'असक्त हुँदा महानगरपालिकाको सेवा, जेष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा' भन्ने नाराका साथ कार्यक्रम सुरु गरेका छौं। जेष्ठ नागरिकहरू उमेर र असक्तताका कारण अस्पतालसम्म पुग्न नसक्ने अवस्था धेरै देखिन्छ। त्यसैले स्वास्थ्य सेवा स्वयं नागरिकको घरदैलोमा पुर्याउने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो,' उपमेयर डंगोलले भनिन्।
उनका अनुसार जटिल स्वास्थ्य अवस्था देखिएमा सम्बन्धित अस्पतालमा रेफर गर्ने, एम्बुलेन्स सेवा तथा उपचार प्रक्रियामा आवश्यक समन्वयसमेत महानगरपालिकाले गर्नेछ। सेवा सञ्चालनका लागि स्वास्थ्यकर्मीहरूको टोली परिचालन गरिएको छ।
महानगरपालिकाले यस कार्यक्रमले जेष्ठ नागरिकको स्वास्थ्य जोखिम न्यूनीकरण गर्न, समयमै रोग पत्ता लगाउन र जीवनस्तर सुधारमा सहयोग पुग्ने विश्वास लिएको छ। आगामी दिनमा सेवा विस्तार गर्दै थप वडामा प्रभावकारी रूपमा लागू गरिने महानगरको योजना छ।
महानगरपालिकाले जेष्ठ नागरिकका अभिभावक तथा परिवारलाई यस सेवाको लाभ लिन आह्वान गर्दै, सम्बन्धित वडामा सम्पर्क गर्न अनुरोध गरेको छ।