बाजुरा- बाजुराको स्वामिकार्तिकखापर गाउँपालिका–५ मिगुकी २२ वर्षीया सिटना महतारा (रोकाया) हाल जिल्ला अस्पताल बाजुराको शैयामा उपचाररत छिन्। गर्भबाट बच्चाको हात बाहिर निस्किएको करिब ९ घण्टापछि अस्पताल पुगेकी सिटनालाई चिकित्सकहरूले आपतकालीन शल्यक्रिया (अपरेशन) गरी ज्यान जोगाएका हुन्।
सिटना आफ्नो जीवन जोगिएको भन्दै चिकित्सकलाई भगवान् सरह सम्झिँदै धन्यवाद दिइरहेकी छन्। “यो मेरो दोस्रो जीवन हो, म बाँच्न सफल भएँ,” भन्दै उनी भावुक देखिन्छिन्। दुर्भाग्यवश, बच्चा भने गर्भमै मृत्यु भइसकेको थियो।
गर्भबाट बच्चाको हात बाहिर आएको करिब ९ घण्टापछि सिटना जिल्ला अस्पताल बाजुरा पुगेकी थिइन्। अस्पतालका एमडीजिपी डाक्टर आशिष कार्कीको नेतृत्वमा रहेको चिकित्सक टोलीले आपतकालीन अपरेशन गरी उनलाई बचाउन सफल भएको हो।
डाक्टर कार्कीका अनुसार बच्चा भ्रूण अडिएको अवस्था (ट्रान्सभर्स लाइ)मा थियो। हात प्रोल्याप्स भएको र गर्भाशयभित्रै भ्रूणको मृत्यु भइसकेको अवस्था थियो। “बच्चाको हात बाहिर आएको ९ घण्टासम्म आमा बच्नु अत्यन्तै दुर्लभ हुन्छ,” डा. कार्कीले भने, “अस्पताल पुग्दासम्म आमा होसमा हुनुहुन्थ्यो। अपरेशन गरेर बच्चा निकाल्यौँ र आमालाई जोगाउन सफल भयौँ। अहिले आमा खतरामुक्त हुनुहुन्छ।”
सिटनाले बिहान करिब ९ बजेतिर व्यथा लागेपछि घरमै बच्चाको हात बाहिर आएको बताइन्। आफन्तले उनलाई बोकेर स्थानीय मिगु स्वास्थ्य चौकी लगेका थिए। त्यहाँ उपचार सम्भव नभएपछि कोल्टी अस्पताल रिफर गरिएको थियो।
स्थानीयले करिब तीन घण्टा बोकेर जेरा गाउँसम्म पुर्याएपछि गाडीमार्फत कोल्टी अस्पताल लगिएको थियो। “कोल्टी पुग्दा दिउँसो ३ बजिसकेको थियो। बाटोमा बच्चा पेटमै चलिरहेको थियो,” सिटनाले भनिन्। तर कोल्टी अस्पतालमा अपरेशन गर्ने चिकित्सक नभएकाले जिल्ला अस्पताल बाजुरा रिफर गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी दोरेन्द्र निरौलाका अनुसार हेलिकप्टरमार्फत उद्धार गर्ने प्रयास गरिएको थियो। “साँझ परिसकेकाले हेलिकप्टर सम्भव भएन, त्यसपछि जिल्ला अस्पताल बाजुरा ल्याउने व्यवस्था मिलाइयो,” उनले बताए।
सिटनाका अनुसार बाटोमै बच्चाको मृत्यु भइसकेको थियो। उनले ९ घण्टाभन्दा बढी समय अत्यधिक पीडा सहनुपरेको बताइन्। “बाँच्ने आश नै मरिसकेको थियो,” उनले भनिन्।
डाक्टर कार्कीका अनुसार अस्पताल पुग्दा बच्चा मृत्यु भइसकेको थियो र गर्भाशयभित्र रक्तस्राव भइरहेको थियो। “यस्तो अवस्थामा आमाको ज्यान जोगिने सम्भावना निकै कम हुन्छ,” उनले भने, “तर सफल अपरेशनपछि उहाँलाई बचाउन सकेका छौँ।”
चिकित्सकहरूका अनुसार यस्तो अवस्थाबाट पाठेघर फुट्ने, अत्यधिक रक्तस्राव हुने, संक्रमण फैलिने तथा रगत जम्ने प्रणाली बिग्रने जस्ता जटिलता देखिन सक्छन्।
सिटना दोस्रो सन्तान गर्भवती थिइन्। उनका ससुरा धन महताराले बुहारी बाँच्न सफल भएकोमा राहत व्यक्त गरे। तर यस्तै समस्याका कारण केही वर्षअघि आफ्नी अर्की बुहारी शिबु महतराको मृत्यु भएको उनले बताए। “घरमै सुत्केरी हुँदा धेरै रगत बग्यो, अस्पताल पुर्याउन नपाउँदै मृत्यु भयो,” उनले भने। शिबुको बच्चा भने जीवित रहेको परिवारले जनाएको छ।
गर्भावस्थामा नियमित जाँच नहुनु, दुर्गम क्षेत्रमा भिडियो एक्स–रेको पहुँच नहुनु तथा दक्ष जनशक्ति अभावका कारण धेरै आमाको ज्यान जोखिममा पर्ने गरेको अस्पताल बाजुराकी स्टाफ नर्स धर्मा रोकायाले बताइन्। “सिटना एउटा उदाहरण मात्र हो,” उनले भनिन्, “भौगोलिक विकटताका कारण सुविधासम्पन्न स्वास्थ्य संस्था पुग्न धेरै समय लाग्छ, जसले जोखिम बढाउँछ।”