गत वर्ष जनवरीमा नेपाल भ्रमणका क्रममा एक साँझ मेरो एकजना बाल्यकालको साथीको फोन आयो। प्रायजसो फुर्तिलो स्वरमा कुराकानी गर्ने उनी सदाको जस्तो हसिलो र जोसिलो नभई उनको स्वर मलिन, कता कता डर र चिन्ताले भरिएको थियो। उनले भनिन्, 'आमा अचानक सिकिस्त बिरामी हुनुभयो र अस्पतालमा भेन्टिलेटरमा हुनुहुन्छ।' उनी बढी केही बोल्न सकिनन्- फोन काटियो।
भोलिपल्ट हस्याङफस्याङ गर्दै अस्पताल परिसर पुगेँ। आईसीयू बाहिर परिवारको घुइँचो थियो। कोही रुद्राक्षको माला गन्दै, कोही फार्मेसीतिर दौडधुप गर्दै त कोही आँखाभरि आँसु टिलपिल पार्दै आमाको स्वास्थ्य लाभको प्रतीक्षामा कुरिरहेको पाएँ। अनि साथी आफैँले भन्न थालिन्- 'वर्षौँदेखिको मधुमेह (डायबिटीज) का कारण दुवै मिर्गौलाले काम गर्न छाडिसकेको रहेछ, मुटु, कलेजो र फोक्सो सबैमा समस्या देखिएको छ। डाक्टरहरूले डायलाइसिस गर्ने सल्लाह पनि दिएका छन्।'
अनि यताउता अरू आफन्त र कुरुवाको अनुहार चिहाउन पुग्छु। आमाका लागि श्वास रहुन्जेल आश र त्यो जीर्ण अनि वृद्ध शरीर लास नभएसम्म 'भगवान्' रूपी डाक्टरहरूको प्रेस्क्रिप्सन र 'अप्सरा' रूपी नर्सहरूको अर्डर अनुसार धमाधम औषधि र सलाइन पानी किन्ने परिवारको लर्को पाएँ। तर सबैको अनुहारमा भने निराशा र सन्नटा छाएकै थियो।
मैले मेरो साथी र उनका आफन्तलाई सोधेँ- डाक्टरहरूले अरू के-के सल्लाह दिएका छन्, स्वास्थ्य सुधार के-कस्तो छ, आमाको अन्तिम इच्छा के थियो आदि इत्यादि। एकैछिन सबैजना अलमल्ल पर्दै अनुत्तरित हुनुभयो। एकछिन पछि सबैले एउटै स्वरमा भने, 'हामीलाई त्यति धेरै यसको बारेमा केही थाहा छैन तर आमालाई जसरी भए पनि बचाउनुपर्छ। डाक्टर र नर्सको सल्लाह अनुसार हामीले औषधि र सलाइन पानी जति पनि किनेर ल्याएका छौँ र ल्याउन पनि सक्छौँ। कदम कदाचित केही अपरेसन गरिहाल्नु परे पनि हामी खर्च जुटाउन तयार छौँ।'
केही बेरको बातचीतपछि म आमालाई भेट्ने बहानामा साथीसँग आईसीयूमा पसेँ। संयोग पनि कस्तो, म नर्सिङ पढ्दा उहाँ मेडिसिन पढ्ने, हामी गर्ल्स होस्टेलमा सँगै बसेको र तीन वर्षसम्म एउटै मेसमा खाना खाएको डाक्टर रुबी आईसीयूको कन्सल्टेन्ट हुनुहुँदो रहेछ। डाक्टर रुबीको विस्तृत जानकारीबाट थाहा भयो कि ती ८२ वर्षीया आमाको स्वास्थ्य अवस्था जटिल र गम्भीर भइसकेको रहेछ। उहाँ आईसीयू र भेन्टिलेटरमा ५ दिनदेखि हुनुहुँदो रहेछ।
अब थप उपचारले आमाको आयु लम्ब्याउनु र गुणस्तरीय जीवन पाउनु भन्दा दुःख लम्ब्याउने, आमा र परिवार दुवैलाई बढी शास्ती हुने, आर्थिक, मानसिक, शारीरिक र सामाजिक हिसाबले बढी तनाव हुने सम्भावना मैले बुझेँ। अनि मैले पच्चीसौँ वर्षको विदेश बसाई, पेसागत सिकाइ र भोगाइका आधारमा दुईवटा उपाय सुझाएँ। एक, आमालाई भेन्टिलेटरबाट निकालेर 'कम्फर्ट केयर' को अवधारणा अनुसार मर्फिन वा मिडाजोलाम दिएर जीवनको अन्तिम दिनको तयारी गर्ने। अर्को, कि त घर लगेर आफ्नो धर्म र आस्था अनुसार विधि पूरा गरी दशदान, वैतरणी आदि इत्यादि गर्ने। परिवारले भेन्टिलेटरबाट झिक्ने तर मर्फिन वा मिडाजोलाम चाहिँ नदिने निर्णय गर्नुभएछ। हुन त नेपालको परिवेशमा क्यान्सर लागेका बिरामीहरूलाई मात्रै जीवनको अन्तिम क्षणमा मिडाजोलाम वा मर्फिन दिइने चलन रहेछ (मेरो बुझाइमा)।
दुई दिनपछि आमालाई आईसीयूमा भेट्न गएँ- 'टर्मिनल एजिटेसन' का कारण उहाँ धेरै छटपटाउँदै हुनुहुँदो रहेछ। आमाको श्वासनली, रक्तनली, मूत्रनली सबैतिर पाइप झुन्ड्याइएको थियो। आईसीयूमा 'वान इज टु वान' नर्सको व्यवस्था नहुने हुँदा उहाँका चारै हातखुट्टा बेडको छेउमा बाँधेर राखिएको थियो। हामीलाई त्यो दृश्य टुलुटुलु हेरेर बस्नु बाहेक अरू केही उपाय थिएन। दुर्भाग्यवश, आमालाई हेर्दाहेर्दै त्यही दृश्यमा आमाले अन्तिम श्वास लिनुभयो। त्यो मेरो जीवनको एक अविस्मरणीय दृश्य थियो।
केही दिनपछि अस्ट्रेलिया फर्केर आफ्नो पेसागत दैनिकीमा हाजिर हुन थालेँ। काममा फर्केको केही हप्ता र महिनासम्म त्यही दृश्यले धेरै घच्घच्यायो। अनि बारम्बार एउटै प्रश्न उठ्न थाल्यो, 'किन हामीले उपचारले बचाउन नसक्ने अवस्थाको मानिसलाई सहज मृत्युको व्यवस्थापन गर्न सक्दैनौँ?'
गत महिना मिथिला शर्मा र सुरक्षा पन्तद्वारा अभिनित नेपाली चलचित्र 'आमा' हेर्ने मौका मिल्यो। हुन त चलचित्र बनाउँदा प्रायजसो तिनका कथा र पात्रहरू काल्पनिक नै हुन्छन्। यो चलचित्रमा पनि कथा र पात्रहरू काल्पनिक भए पनि समय सान्दर्भिक, सन्देशमूलक र जीवन्त प्रस्तुति थियो। त्यो चलचित्र हेर्दा कता-कता धेरै नेपालीहरूको जीवनको भोगाइसँग मेल खान्छ जस्तो लाग्यो। वर्तमान नेपाली समाजको तीतो यथार्थलाई त्यसमा राम्रोसँग चित्रण गरिएको छ, जुन धेरै मार्मिक र सान्दर्भिक लाग्यो।
चलचित्रमा देखाइएका दृश्यहरू- जस्तै पैसा जम्मा गर्न नसकेसम्म बिरामी भर्ना नगर्नु, प्रोसिडर र इन्भेस्टिगेसन गर्न नखोज्नु, अस्पताल प्रशासन र बिरामीका आफन्तबीच घरिघरि रकमको बारेमा किचकिच चलिरहनु, मस्तिष्कघात भएर मृत्यु भइसकेको बिरामीलाई भेन्टिलेटरमा राखेर परिवारलाई औषधि र सलाइन पानी किन्न पठाउनु, जुनियर डाक्टरको कुरा सिनियरले सुन्न नचाहनु, मृत्यु भइसकेको बिरामीको समाचार सुनाउन बोर्ड अफ डिरेक्टरको फैसला पर्खिनुपर्ने बाध्यता, अनि श्रीमतीले श्रीमान्को लास छुन पनि नपाई मुर्दाघर बाहिर सिँढीमा कुर्दाकुर्दै आफ्नो अन्तिम श्वास लिनुपर्ने अवस्था।
अर्कोतर्फ विवाहित छोरीले गलाको मङ्गलसूत्र र तिलहरी बेचेर बाबुको लास अस्पतालबाट झिकाउनु, कपाल खौरिएर अन्तिम संस्कार गर्नु, सन्तानको खुसी र भविष्य सोच्दासोच्दै बाबुआमाको जिन्दगी सकिनु, अनि जीवनको अन्तिम घडीमा विदेशिएका छोराछोरीले बाबुआमाको मुख समेत हेर्न नपाउनु जस्ता दृश्यहरूले चलचित्र हेर्दाहेर्दै आँसु बगेको पत्तै भएन।
यी दृश्यहरू काल्पनिक भए तापनि धेरै हदसम्म नेपाली समाजको आजको तीतो यथार्थ हुन्। यसैले मेरो मनमस्तिष्कमा गहिरो छाप पार्यो र यो लेख लेख्न प्रेरित गर्यो।
पेसागत हिसाबले म एक नर्स, अस्ट्रेलियामा बीसौँ वर्षसम्म धेरै सरकारी र निजी अस्पतालका विभिन्न विभागहरूमा काम गरिसकेको अनुभव छ। मैले देखे-बुझे अनुसार, यस देशमा सचेत व्यक्तिले आफू मानसिक र शारीरिक रूपमा स्वस्थ हुँदा नै भविष्यमा जटिल रोग लागेमा वा गम्भीर दुर्घटना भएमा कसरी अगाडि बढ्ने भन्नेबारे कानुनी कागजात ('एडभान्स केयर डाइरेक्टिभ') तयार गरेका हुन्छन्। कुन हदसम्म उपचार गर्ने, कसरी गुणस्तरीय जीवन कायम राख्ने र आफ्नो मृत्यु कहाँ र कसरी होस् भन्ने कुरामा परिवार र वकिलसँग पहिले नै छलफल गरिएको हुन्छ। यसले परिवार र डाक्टरलाई निर्णय लिन धेरै सहज बनाउँछ।
हरेक बिरामी अस्पताल भर्ना भएपछि डाक्टरले बिरामी वा परिवारसँग सल्लाह गरेर 'गोल अफ केयर' जस्तैफुल रिसससिटेसन, लिमिटेड रिसससिटेसन, नट फर रिसससिटेसन आदि अनिवार्य रूपमा कागजात गर्नुपर्छ। कथम कदाचित निको नहुने रोग लागेमा बिरामीले थप उपचार नरोजी 'प्रशामक हेरचाह' रोज्न सक्छन्, जसले मृत्युवरणलाई सहज र पीडामुक्त बनाउँछ। दुःखाइ कम गर्न हातखुट्टा बाँध्नुको सट्टा उपयुक्त औषधिको प्रयोग गरिन्छ।
एक स्वास्थ्यकर्मीको नाताले हेर्दा यस्ता सुविधाहरूले बिरामी र आफन्तलाई आत्मसन्तुष्टि मिलेको र मृत्यु सम्हाल्न सहज भएको पाएकी छु। डाक्टर, बिरामी र आफन्तबीच एकदमै पारदर्शी सम्बन्ध हुन्छ। यहाँ प्रायजसो मानिसले बुझिसकेका हुन्छन् कि मानिस जन्मेपछि मृत्यु अवश्यम्भावी छ र मृत्यु जिन्दगीको अन्तिम सीमा बिन्दु नै हो।
पेसागत जीवनमा मैले सयौँ मृत्युहरू देखेकी छु। सबै मृत्युहरू सहजै स्वीकार गर्न हामीलाई पनि गाह्रो पर्छ। कति मृत्यु अकल्पनीय हुन्छन्, कति अकालमै हुन्छन् त कति अत्यन्तै पीडादायक। तर अन्ततः यो सबै प्राकृतिक चक्र र जीवनको यथार्थ हो।
विदेशिएको २५ वर्ष भइसक्यो, तर 'एकपटकको नेपाली, सधैँको नेपाली' भनेझैँ तन विदेशमा भए पनि मन नेपालमै हुन्छ। नेपालको स्वास्थ्य प्रणालीप्रति मेरो गहिरो सरोकार छ। सरकारी स्तरमा सुलभ र परिस्थिति अनुकूल सेवा नहुनु र निजी अस्पतालले मनलाग्दी शुल्क लिनु नौलो कुरा रहेन। जब परिवारको कोही सदस्य बिरामी पर्छ, आफन्तले अस्पताललाई मन्दिर र स्वास्थ्यकर्मीलाई भगवान् सम्झेर धाउँछन्। तर कतिपय अवस्थामा उपचार सम्भव नहुँदा पनि मरिसकेको शरीरलाई भेन्टिलेटरमा राखेर गरिब जनतालाई घर न घाटको बनाइएको सुनिन्छ। अन्त्यमा न जीवन रहन्छ, न त सम्पत्ति नै।
आजको पुस्ताका धेरै छोराछोरी विदेशिन बाध्य छन्। भिसा लाग्दा खुसी हुने बाबुआमाहरू पछि बिरामी परेर मृत्युको सङ्घारमा पुग्दा तिनै सन्तानले अन्तिम पटक मुख देख्न पनि नपाउनु आजको तीतो यथार्थ हो। त्यसैले, हाम्रो समाजका सचेत व्यक्तिहरूले आफू स्वस्थ छँदै यस्ता विषयमा परिवारसँग छलफल गर्नु आवश्यक छ। ८०–९० वर्षको उमेरमा वा निको नहुने रोग लाग्दा जीवनको अन्तिम इच्छा के हुने र त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेबारे संवाद हुनुपर्छ।
डाक्टरहरूले पनि पेसागत नैतिकताका आधारमा बिरामीको अवस्थाबारे परिवारलाई खुलस्त बुझाउनु पर्छ। उपचारले बचाउन नसकिने अवस्थामा मृत्युलाई कसरी सहज बनाउने भन्ने कुरामा सोच्ने बेला आइसकेको छ। प्राण परित्यागको निर्णय लिनु सहज छैन, तर जन्मिएपछि मृत्यु अनिवार्य छ। हिन्दु परम्परा अनुसार पनि १६ वटा संस्कारमध्ये मृत्यु अन्तिम संस्कार हो। जीवनका अरू संस्कार जस्तै यसलाई पनि व्यवस्थित र मर्यादित बनाउनुपर्छ।
प्राचीन कालमा आँगनको तुलसीको मठ वा खोला किनारमा आफन्तको साथमा अन्तिम श्वास लिने चलन थियो। तर आज आधुनिकताको नाममा आईसीयू र भेन्टिलेटरको झमेलामा बिरामीलाई एक्लो पारेर कैदी जस्तो तड्पाएर राख्ने गरिन्छ, जसले कसैलाई सन्तुष्टि दिँदैन।
मेरो व्यक्तिगत अनुभवमा, ४० वर्षअघि गाउँमा ८५ वर्षीय हजुरबुवालाई तुलसीको मठमा गीता पाठ सुन्दै सपरिवार बिदाइ गरेको याद ताजै छ। त्यस्तै, अस्ट्रेलियामा ९० वर्षीया सासुआमालाई २०२२ मा घरमै सपरिवारको बीचमा प्रेमपूर्वक बिदाइ गर्यौँ। मेलबर्नकै एक आफन्त दिदीले ५५ वर्षको उमेरमा क्यान्सरका कारण अन्त्यमा आफ्नै घरमा 'प्यालिएटिभ केयर' लिँदै शान्तिपूर्ण रूपमा प्राण त्याग्नुभयो। यी मृत्युहरूमा परिवारमा एउटा आत्मसन्तुष्टि थियो।
मर्ने रहर कसैलाई हुँदैन र आफन्त गुमाउने इच्छा पनि हुँदैन। तर जब बाँच्ने सम्भावना समाप्त हुन्छ, भावनामा बगेर बिरामीलाई थप कष्ट दिनुभन्दा शान्तिपूर्ण प्राकृतिक मृत्यु हरेक व्यक्तिको हक बन्नुपर्छ।
मृत्यु अवश्यम्भावी छ, यसलाई सहज र मर्यादित बनाउनु नै मानवीय धर्म हो।
ओम शान्ति।