काठमाडौं- देउराली–जनता फार्मास्युटिकल्स प्रालिले औषधि उत्पादन क्षमता विस्तार गर्ने उद्देश्यसहित चितवनको भरतपुरमा अत्याधुनिक नयाँ कारखाना स्थापना गर्ने निर्णय गरेको छ। कम्पनीले उक्त परियोजनामा थप ४७५ करोड रुपैयाँ लगानी गर्ने जनाएको छ
३५ औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण हुने यो नयाँ कारखाना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको देउराली-जनताका कार्यकारी निर्देशक हरिभक्त शर्माले जानकारी दिए।
उनका अनुसार परियोजना सम्पन्न भएपछि करिब ५५० जनालाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना हुने छ ।
देउराली–जनता विगत ३५ वर्षदेखि अत्यावश्यक जीवनरक्षक औषधिहरू स्वदेशमै उत्पादन गर्दै आएको नेपालकै अग्रणी औषधि उद्योग हो। हाल कम्पनीले क्याप्सुल, ट्याब्लेट, लिक्विड, ओइन्टमेन्ट, ड्राइ पाउडरलगायत २९६ प्रकारका औषधि उत्पादन गरिरहेको छ। अन्तर्राष्ट्रिय स्तरका डब्लुएचओ जिएमपी, आइएसओ ९००१ र आइएसओ १४००१ प्रमाणपत्र प्राप्त यस उद्योगले औषधि आयातमा रहेको निर्भरता घटाउँदै मुलुकलाई आत्मनिर्भर बनाउने दिशामा योगदान पुर्याइरहेको कार्यक्रममा वितरण गरिएको प्रेस वक्तव्यमा उल्लेख छ।
कम्पनीका अनुसार नयाँ कारखाना स्थापना भएसँगै उत्पादन विविधीकरण, गुणस्तर सुधार र अन्तर्राष्ट्रिय बजारमा नेपाली औषधिको प्रतिस्पर्धात्मक क्षमता बढ्ने विश्वास लिइएको छ। देउराली–जनताले यस परियोजना सफल बनाउन नेपाल सरकार, सरोकारवाला निकाय र सञ्चारकर्मीहरूको सहयोग र सहकार्यको अपेक्षा गरेको छ।
यस्तो छ ३५ औं वार्षिकोत्सवको अवसरमा प्रेषित प्रेस वक्तव्य
देउराली–जनता फार्मास्युटिकल्स प्रा.लि. विगत ३५ वर्षदेखि नेपाली जनताका लागि उच्च प्रविधि आयात गरी अत्यावश्यक औषधिहरू स्वदेशमै उत्पादन गरी स्वास्थ्य सेवामा समर्पित नेपालकै अग्रणी औषधि उद्योगका रूपमा स्थापित रहँदै आएको विदितै छ। यस कम्पनीले नेपालमा नयाँ र अत्यावश्यक औषधि उत्पादन विस्तार गर्ने आफ्नो उद्देश्यलाई इमानदारीपूर्वक कार्यान्वयन गर्दै देशमा औषधि आयातमा रहेको परनिर्भरतालाई कम गर्दै औषधि उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि सयौं औषधिहरू नेपालमा पहिलो पटक विकास र उत्पादन गरी सफल इतिहास कोर्ने सौभाग्य प्राप्त गरेको छ।
यस कम्पनीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै अत्यावश्यक जीवन रक्षक औषधिहरू र विभिन्न दीर्घ रोगहरूको उपचारमा आवश्यक पर्ने Capsule, Tablet, Liquid, Ointment, Dry Powder लगायतका २९६ प्रकारका जीवन रक्षक औषधिहरू अनुसन्धान गर्ने, उत्पादन गर्ने र ती उत्पादनहरूको गुणस्तर निर्धारण गर्ने अत्याधुनिक प्रविधि र उपकरणसहितको सुविधा सम्पन्न कारखाना निर्माण गरी अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीयता रहेका औषधिहरू नेपाली जनतालाई उपलब्ध गराइरहेको छ। विश्वका विभिन्न मुलुकहरूबाट उच्च शिक्षा हासिल गरेका दक्ष वैज्ञानिक, प्राविधिक लगायत सबै तहमा कार्यरत करिब ६७५ जना कर्मठ कर्मचारीहरूको शिल्प, परिश्रम र नवीन सोचले नै आज देउराली–जनतालाई हरेक नेपालीको विश्वसनीय नाम बनाएको छ।
यस कम्पनीको ३५ औं वार्षिकोत्सवको विशेष अवसरमा विगतका हाम्रा अनुभवहरूको उपयोग गर्दै औषधिको गुणात्मक स्तर वृद्धि गरी यस क्षेत्रमा राष्ट्रलाई आत्मनिर्भर बनाउन योगदान गर्न हामी संकल्पित छौं।
देउराली–जनता नेपालको औषधि उत्पादन क्षेत्रमा प्रविधि हस्तान्तरणमार्फत उच्चस्तरीय अन्तर्राष्ट्रिय प्रविधि (International Technology) आयात गर्ने पहिलो र एकमात्र उद्योगको रूपमा स्थापित भई कुशल उत्पादन एवं गुणस्तर नियन्त्रण प्रक्रिया (cGMP) एवं वातावरणीय मापदण्ड पूरा गरेको आधारमा प्रदान गरिने ISO-9001; ISO-14001 का प्रमाणीकरणहरू र विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम अन्तर्राष्ट्रियस्तरको कुशल औषधि उत्पादन प्रक्रिया पूरा गरेको आधारमा प्रदान गरिने WHO-GMP को प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो औषधि कम्पनीको रूपमा परिचित रहेको विदितै छ।
हाम्रा प्रयत्नहरूले स्वदेशी औषधि उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने महत्वपूर्ण मार्गदर्शन गरेका छन्। देउराली–जनताले कुशल संस्थागत व्यवस्थापन, प्रशासनिक पारदर्शिता र कर्मचारी नीति, सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आफ्नो उत्पादन प्रणाली, गुणस्तर एवं व्यावसायिक आचरणलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रयत्न गरिरहेको छ।
विज्ञानमा आधारित : गुणस्तर र सत्यनिष्ठाबाट प्रमाणित भएको हाम्रो कार्यदिशाको मर्मलाई आत्मसात गर्दै औषधि उत्पादनमा आत्मनिर्भर बन्ने र विश्व बजारमा नेपाली औषधिको निर्यात सम्भावनालाई साकार पार्ने दिशामा कम्पनी निरन्तर अग्रसर भइरहेको छ।
यस अविरल यात्रामा हामीलाई सहयोग गरिरहनु भएका चिकित्सकहरू, औषधि व्यवसायीहरू, पत्रकारहरू, कम्पनीका व्यावसायिक साझेदारहरू, स्वास्थ्यसँग सम्बन्धित विभिन्न सरकारी तथा स्थानीय निकायका पदाधिकारीहरू, यस कम्पनीका सबै शुभेच्छुकहरूप्रति हामी कृतज्ञ छौं।
आफ्नो व्यावसायिक जिम्मेवारी निर्वाह गर्दै निरन्तर परिश्रम गर्ने सबै वैज्ञानिक, प्राविधिक लगायत सबै तहमा यस कम्पनीमा कार्यरत कर्मचारीहरूप्रति हामी आभार व्यक्त गर्दछौं।
नयाँ परियोजना
यस कम्पनीले आफ्नो उत्पादनलाई विविधीकरण गर्दै उत्पादन क्षमता वृद्धि गर्ने र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको अत्याधुनिक नयाँ कारखाना चितवनको भरतपुरमा निर्माण गर्ने निर्णय गरेको छ। यो प्रस्तावित नयाँ कारखानामा यस कम्पनीले थप ४७५ करोड रुपैयाँ लगानी गरी यो आयोजना दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ। उक्त नयाँ परियोजना सम्पन्न भएपश्चात थप ५५० जनालाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना हुनेछ।
हाम्रो उत्पादन विविधीकरण र उत्पादन क्षमता वृद्धि गर्न थप ४७५ करोड लगानी गर्ने यस पुनः प्रयासमा शीघ्र निर्णयसहित सहयोग प्रदान गर्न हामी नेपाल सरकारका सबै निकायहरू, नेपाली जनता र विशेष गरी तपाईँ पत्रकार मित्रहरूको सहयोग, साथ र हौसला अपेक्षा गर्दछौं।
तपाईँहरूको सुझाव र सहयोगले नै हामीलाई विकसित विज्ञानलाई अझ परिष्कृत गर्न र गुणस्तरीय सेवा विस्तार गर्न प्रेरित गरेको छ। हामी आगामी दिनहरूमा पनि जनस्वास्थ्यको क्षेत्रमा अझ प्रभावकारी नवीन प्रविधि र उच्च गुणस्तरका उत्पादनहरू मार्फत व्यावसायिक सेवाको यात्रामा अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।
देउराली–जनतामाथि अटुट विश्वास र भरोसा गर्नुहुनेप्रति हार्दिक आभार व्यक्त गर्दछौं।
मिति: २०८२ माघ २० गते, मंगलबार