काठमाडौं - नेपाल औषधि व्यवसायी संघले क्यान्सरको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न पाँच प्रतिवद्धता व्यक्त गरेको छ।
विश्व क्यान्सर दिवसको अवसरमा संघले क्यान्सरको रोकथाम तथा नियन्त्रणका लागि आफ्नो तर्फबाट विभिन्न पाँच प्रतिवद्धता व्यक्त गरेको हो।
क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि अभियान विस्तार गर्ने, बिरामीमैत्री औषधि पहुँच सुनिश्चित गर्न सरोकारवालासँग सहकार्य गर्ने, औषधि व्यवसायलाई अझ नैतिक, पारदर्शी र उत्तरदायी बनाउने, सार्वजनिक स्वास्थ्य संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने र राज्य र सरोकारवालासँग मिलेर सुलभ क्यान्सर औषधि र उपचार प्रणालीको वकालत गर्ने संघको प्रतिवद्धता छ।
यो सँगै संघले क्यान्सर विरुद्धको लडाईमा राष्ट्र र जनताको साथमा सधै दृढतापूर्वक उभिने समेत प्रतिवद्धता जनाएको छ। क्यान्सर केवल चिकित्सक वा अस्पतालले मात्र जित्ने युद्ध नभएकाले स्वास्थ्यकर्मी तथा औषधि व्यवसायीहरुको पनि जिम्मेवारी हुने संघको भनाई छ।
क्यान्सरबाट हुने अकाल मृत्युलाई रोक्न क्यान्सर विरुद्धको लडाईलाई राष्ट्रिय अभियान बनाउन संघले सबैलाई आग्रह समेत गरेको छ।