काठमाडौं - नेपाल डेन्टल एशोसिएसनले टुथपेस्ट तथा मुख सफाईका सम्पूर्ण उत्पादनहरुको तत्काल गुणस्तर परीक्षण र नियमन गर्न माग गरेको छ।
एशोसिएसनले प्रेस विज्ञप्ति जारी गरी टुथपेस्टमा सिसा भेटिएको अध्ययन निकै गम्भीर भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग यसको तत्काल गुणस्तर परीक्षण र नियमन गर्न माग गरेको हो।
जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र (सेपेड) ले हालै मात्र टुथपेस्ट सहित विभिन्न सौन्दर्य सामग्रीमा स्वास्थ्यका लागि हानिकारक मानिने सिसाको मात्रा अत्यधिक रहेको अध्ययन सार्वजनिक गरेको थियो।
विश्व स्वास्थ्य संगठन सहित अन्तर्राष्ट्रिय स्वास्थ्य निकायले सिसालाई स्नायु प्रणालीमा गहिरो असर पुर्याउने विषाक्त धातुका रुपमा परिभाषित गरेको छ।
मुखको माध्यमबाट प्रत्यक्ष रुपमा प्रयोग हुने टुथपेस्टमा यस्ता विषाक्त तत्वहरु भेटिनु गम्भीर विषय भएको एशोसिएसनको ठम्याई छ।
आगामी दिनमा हुन सक्ने स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै यस किसिमको उत्पादनहरुको अनिवार्य रुपमा गुणस्तर परीक्षण र कडा नियमन गर्न एशोसिएसनको माग छ।