काठमाडौं - भक्तपुर क्यान्सर अस्पतालले नेपालको राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति (२०२४–२०३०) को प्रभावकारी कार्यान्वयनबारे काठमाडौंमा छलफल गरेको छ। विश्व क्यान्सर दिवसको अवसरमा अस्पतालले क्यान्सर नियन्त्रण रणनीतिको प्रभावकारी कार्यान्वयका लागि सरोकारवालासँग छलफल गरेको हो।
रणनीतिमा स्वास्थ्य प्रवर्धन तथा क्यान्सर रोकथाम, प्रारम्भिक पहिचान, निदान र उपचार, प्रशामक सेवा, पूर्वाधार विकास, जनशक्ति विकास, बहुपक्षीय सहकार्य, अनुगमन–निगरानी तथा अनुसन्धान, सुशासन र वित्तीय व्यवस्थापन लगायत विषयहरू समेटिएका छन्।
छलफलमा वरिष्ठ रेडिएसन अंकोलोजिष्ट डा गिसुप निख प्रसिकोले क्यान्सरको प्रमुख कारकका रूपमा रहेको सुर्तिजन्य पदार्थको उत्पादन तथा प्रयोग पूर्ण रूपमा बन्द गर्नुपर्ने बताए। उनले भारतको उडिसा राज्यले हालै यसमा प्रतिबन्ध गरेको र यसअघि भुटानले समेत प्रतिबन्ध लगाइसकेको उदाहरण दिँदै नेपालले पनि यसतर्फ अग्रसर हुनुपर्ने बताए।
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा उज्वल चालिसेले रणनीति कार्यान्वयनमा स्थानीय सरकारको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउँदै संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारबीच समन्वय भएमा मात्र रणनीति सफलतापूर्वक कार्यान्वयन गर्न सकिने धारणा राखे।
छलफलमा सहभागीहरूले रणनीति अन्तर्गत ९ वटा रणनीति अनुसार ९ वटा कार्यनीति स्पष्ट रूपमा तय गर्नुपर्ने सुझाव दिएका छन्। साथै क्यान्सरको मुख्य कारण सुर्तिजन्य पदार्थ भएकाले टोबाकोको उत्पादन तथा वितरण नै बन्द गर्नुपर्नेमा उनीहरूको जोड छ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व सचिव तथा भक्तपुर क्यान्सर अस्पतालका अध्यक्ष डा श्रीकृष्ण श्रेष्ठ, मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठ, क्यान्सर अनुसन्धानकर्ता किशोर प्रधानाङ्ग लगायतको उपस्थिति थियो।