ललितपुर- क्यान्सर उपचारलाई अझ वैज्ञानिक, प्रभावकारी र बिरामी–मैत्री बनाउने उद्देश्यसहित पाटन अस्पतालमा बहु–विषयगत ट्युमर बोर्ड (मल्टिडिसिप्लिनरी ट्युमर बोर्ड - एमटिबी) गठन गरिएको छ।
अन्तर्राष्ट्रिय अभ्यासअनुसार गठन गरिएको यस ट्युमर बोर्डमार्फत क्यान्सर बिरामीलाई प्रमाणमा आधारित उपचार (एभिडेन्स–बेस्ड ट्रिटमेन्ट), एकीकृत निर्णय प्रणाली तथा आर्थिक र सामाजिक सहयोगलाई समेत प्राथमिकतामा राखिने अस्पतालले जनाएको छ।
ट्युमर बोर्डको अध्यक्षतामा पाटन अस्पतालका अस्पताल निर्देशक रहने व्यवस्था गरिएको छ भने मेडिकल अनकोलोजिस्ट सदस्य–सचिवको भूमिकामा रहनेछन्। बोर्डमा सर्जन, रेडियोलोजिस्ट, पाथोलोजिस्ट, मेडिकल अनकोलोजिस्ट, गाइनिको–अन्कोलोजिस्ट, पेडियाट्रिक अन्कोलोजिस्ट, प्यालिएटिभ फिजिसियन, नर्सिङ कर्मचारी, फिजियोथेरेपिस्ट, डाइटिसियन तथा अन्य सम्बन्धित विशेषज्ञहरूको सहभागिता रहनेछ।
यस ट्युमर बोर्डको मुख्य उद्देश्य क्यान्सर बिरामीका लागि उपचार निर्णयलाई सामूहिक र वैज्ञानिक बनाउँदै सेवा प्रवाहलाई सरल, सुलभ र सहज बनाउनु हो। प्रत्येक बिरामीको केस विभिन्न विशेषज्ञहरूले संयुक्त रूपमा समीक्षा गरी उपचार योजना तय गरिने भएकाले उपचारको गुणस्तर र परिणाममा उल्लेखनीय सुधार आउने विश्वास लिइएको छ।

पाटन अस्पतालले देशभित्र तथा विदेशका प्रतिष्ठित अस्पताल र क्यान्सर केन्द्रहरूसँग समन्वय गर्दै ज्ञान, अनुभव र प्रविधिको आदान–प्रदानमार्फत यस ट्युमर बोर्डलाई अझ सशक्त बनाउने जनाएको छ। यस पहलले जटिल क्यान्सर केसहरूमा दोस्रो मत (सेकेन्ड ओपिनियन) तथा उन्नत उपचार विकल्पसम्म बिरामीको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।
अस्पतालका अनुसार ट्युमर बोर्डमार्फत् उपचारसँगै आर्थिक तथा सामाजिक सहयोगका पक्षहरूलाई पनि सम्बोधन गरिनेछ, जसले क्यान्सर उपचारका क्रममा बिरामी र परिवारले बेहोर्नु पर्ने आर्थिक बोझ कम गर्न सहयोग पुग्नेछ।
पाटन अस्पतालमा ट्युमर बोर्डको सुरुआतलाई नेपालमा क्यान्सर उपचार प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरमा उकास्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। यस पहलले क्यान्सर बिरामी र उनीहरूको परिवारमा आशा, भरोसा र सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।