काठमाडौं - नेपाल मेडिसिटी अस्पतालले एक महिलाको सफल कलेजो प्रत्यारोपण गरेको छ। अस्पतालले पोखराकी ४८ वर्षीया गंगाकुमारी थापा कुँवरको सफल कलेजो प्रत्यारोपण गरेको हो।
उनलाई आफ्नै ३७ वर्षीया देउरानी सुनीता खड्काले कलेजो दान गरेको अस्पतालले जनाएको छ। गंगा कुमारी लामो समयदेखि जन्डिसबाट पीडित थिइन्। अस्पताल आइपुग्दा उनको जन्डिसको मात्रा अत्याधिक बढेकोे थियो। पेट फुल्ने, पेटमा पानी जम्ने, हात खुट्टा सुन्निने, खाना मन नलाग्ने र हिँड्न गाह्रो हुने जस्ता गम्भीर लक्षण उनमा देखिएको अस्पतालले जनाएको छ।
मेडिसिटीका हेपाटो–प्यान्क्रियाटो–बिलियरी तथा लिभर ट्रान्सप्लान्ट युनिटका प्रमुख प्राडा उमिदकुमार श्रेष्ठका अनुसार चिकित्सकीय परीक्षणपछि उनलाई अटो इम्युन हेपाटाइटिस भएको पत्ता लागेको थियो। जसका कारण लिभर सिरोसिस भई लिभर फेलियरको अवस्था आएको थियो। चिकित्सकहरुले उनलाई तुरुन्तै कलेजो प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएका थिए।
बिरामीमा अत्यधिक जन्डिस, लिभर फङ्सन टेस्ट असन्तुलित र पेटमा पानी जमेको अवस्था देखिएपछि तत्काल कलेजो प्रत्यारोपण आवश्यक रहेको निष्कर्ष निकालिएको कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा रामबाबु शाहले बताए।
कलेजो प्रत्यारोपणपछि दाता सुनीता खड्का कुँवर अस्पताल भर्ना भएको आठ दिनमा र कलेजो प्राप्तकर्ता गंगाकुमारी १५ दिनमा डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।