काठमाडौं - विश्व क्यान्सर दिवसको अवसरमा ‘युनाइटेड बाइ युनिक’ भन्ने नाराका साथ यो दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइएको छ। भक्तपुर क्यान्सर अस्पतालले ‘क्यान्सर रोकथाम नीति र रणनीति’ शीर्षकमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो।
पछिल्लो समय क्यान्सर रोगको दर बढ्दो क्रममा रहेको देखिएको छ। विशेषज्ञहरूका अनुसार असन्तुलित आहार, व्यायामको कमी, निष्क्रिय जीवनशैली, मदिरा सेवन र सुर्तीजन्य पदार्थको बढ्दो प्रयोगले क्यान्सरको जोखिम बढाएको छ।
यसै सन्दर्भमा वरिष्ठ जनस्वास्थ्य विज्ञ तथा बीपी कोइराला क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका पूर्व विभाग प्रमुख किशोर प्रधानाङ्गले सुर्तीजन्य पदार्थ नियन्त्रणमा १०० प्रतिशत चित्रसहितको स्वास्थ्य चेतावनी कार्यान्वयन अनिवार्य रूपमा गर्नुपर्नेमा जोड दिएका छन्। उनले नेपालमा सुर्तीजन्य पदार्थसम्बन्धी नीति र कानुन भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए।
प्रधानाङ्गका अनुसार बिहारबाट सुर्तीजन्य पदार्थ खुला रूपमा आयात भइरहेका छन् तर त्यसविरुद्ध कुनै कदम चालिएको छैन र कारबाही गरिएको छैन। खुलेआम ‘हुक्का बार’ नाममा क्याफेहरू सञ्चालन भइरहेका छन्, जसले अप्रत्यक्ष रुपमा सुर्तीजन्य पदार्थको प्रवद्र्धन गरिरहेका छन् जुन कानुनले निषेध गरेको छ। क्याफे तथा रेस्टुरेन्टहरू लगायत किराना पसल र चिया पसलहरूमा एउटा मात्र चुरोट बेच्न नपाइने कानुनी व्यवस्था हुँदाहुँदै पनि खुलेआम सिंगल पिस स्टिक बिक्री भइरहेको उनले उल्लेख गरे।
‘हामीसँग नीति छ, तर कार्यान्वयन किन कमजोर छ?’ भन्ने प्रश्न उठाउँदै उनले छिमेकी मुलुक भारतले सुर्तीजन्य पदार्थसम्बन्धी नीति कार्यान्वयनमा कडाइ गरेको अवस्थामा नेपालले पनि प्रभावकारी रूपमा लागू गर्नुपर्ने बताए। सुर्तीजन्य पदार्थ क्यान्सर वृद्धि हुनुका प्रमुख कारणमध्ये एक भएको उल्लेख गर्दै उनले कडा नियमन र जनचेतना अभिवृद्धि आवश्यक रहेको बताए।