बागलुङ – बागलुङ जिल्लामा यस वर्ष २ हजार ३ सय २ बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभि खोप लगाइने भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार फागुन महिनालाई ‘खोप महिना’ का रूपमा मनाउँदै एचपिभि खोप अभियान सञ्चालन गरिनेछ।
विशेषगरी कक्षा ६ मा अध्ययनरत २ हजार २ सय ९१ जना छात्रा तथा विद्यालय बाहिर रहेका ११ जना गरी कुल २ हजार ३ सय २ बालिकालाई खोप प्रदान गरिने तयारी गरिएको हो।
निर्वाचनलगायतका कार्यक्रमलाई व्यवस्थापन गर्दै फागुन महिनालाई नियमित रूपमा खोप महिनाका रूपमा सञ्चालन गरिने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य प्रशासक प्रविण शर्माले जानकारी दिए। खोप निर्देशिकाअनुसार तोकिएको उमेर समूहका कोही पनि नछुटून् भन्ने उद्देश्यसहित फागुन १ गतेदेखि १५ गतेसम्म जिल्लाका सबै स्थानीय तहमा खोप सञ्चालन गरिनेछ।
जिल्लाका १० वटै स्थानीय तहअन्तर्गतका विद्यालय र खोप केन्द्रहरूमा फरक–फरक मितिमा खोप सञ्चालन गरिने जनस्वास्थ्य प्रशासक शर्माले बताए। जिल्लामा रहेका १८३ वटा सामुदायिक विद्यालय, ३४ वटा संस्थागत विद्यालय र ३ वटा अन्य विद्यालय गरी कुल २२० विद्यालय तथा समुदायस्तरका खोप केन्द्रसमेत गरी २९७ वटा खोप केन्द्रमार्फत खोप प्रदान गरिनेछ।
खोप सञ्चालनका लागि २९७ जना स्वास्थ्यकर्मी र त्यति नै संख्यामा स्वयंसेवक खटाइने जनस्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका खोप सुपरभाइजर राजु खत्रीका अनुसार नियमित खोप सेवा तथा छुटेका बालबालिकालाई पनि अभियानमार्फत नियमित खोपमा समेटिनेछ।
गत वर्ष अभियानका रूपमा सुरु गरिएको एचपिभि खोप यस वर्षदेखि निरन्तर कार्यक्रमका रूपमा सञ्चालनमा आएको हो। गत वर्ष जिल्लामा कक्षा ६ देखि १० सम्म अध्ययनरत ९८ प्रतिशत तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका ८५ प्रतिशत किशोरीले खोप लिएको खत्रीले जानकारी दिए। गत वर्ष छुटेका बालिकालाई पनि यस वर्ष खोप लगाइनेछ।
जिल्ला खोप समन्वय समितिको बैठकले खोप अभियानका लागि सबै स्वास्थ्यकर्मीलाई खटाउने निर्णय गरेको हो। केन्द्रीय खोप निर्देशिकाअनुसार फागुन महिनालाई खोप महिनाका रूपमा तय गरी खोप सञ्चालन गरिने भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
बागलुङ नगरपालिकामा फागुन १० देखि १५ गतेसम्म, गलकोट नगरपालिकामा फागुन १ देखि ५ गतेसम्म, ढोरपाटन नगरपालिकामा फागुन १० देखि १४ गतेसम्म र जैमिनी नगरपालिकामा फागुन १० देखि १२ गतेसम्म खोप सञ्चालन गरिनेछ। अन्य ६ वटा गाउँपालिकामा पनि तोकिएको समयअनुसार खोप कार्यक्रम सञ्चालन गरिनेछ।
गत वर्ष १० देखि १४ वर्ष उमेर समूहका ११ हजार १ सय ७७ जना बालिकाले एचपिभि खोप लगाएका थिए। यस वर्ष पनि तोकिएको लक्ष्यअनुसार सबै बालिकालाई खोप लगाइने जनस्वास्थ्य कार्यालयले जनाएको छ। यस वर्ष कक्षा ६ मा अध्ययनरत बालिकाबाहेक १० वर्ष उमेर समूहका ६ जना बालिका विद्यालय बाहिर रहेको तथ्यांक रहेको र उनीहरूलाई नजिकको खोप केन्द्र वा स्वास्थ्य संस्थाबाट खोप लगाइनेछ।
बागलुङ नगरपालिकाले नियमित खोपबाट छुटेका तथा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउनुपर्ने बालिकाको खोजीसमेत गरिरहेको छ। बजार क्षेत्रमा डेरा गरी बस्ने मजदुर तथा बसाइँसराइ गरी आउने परिवारका बालबालिका खोपबाट छुटेको पत्ता लागेपछि खोजी गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए।
हरेक वर्ष स्थानीय तहले आफूलाई पूर्ण खोपयुक्त पालिका घोषणा गरी अद्यावधिक गर्नुपर्ने प्रावधान रहेको छ। यस अभियानले त्यस कार्यमा सहयोग पुग्ने प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख शर्माले बताए। आगामी वैशाखभित्र सबै खोप पूरा गरी पालिकालाई पूर्ण खोप सुनिश्चित र दिगोपना भएको पालिका घोषणा गर्ने लक्ष्य रहेको र त्यसपछि जिल्लालाई पनि पूर्ण खोपयुक्त घोषणा गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
नेपालमा हरेक वर्ष करिब २ हजार १ सय ६९ जना महिलामा पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ। महिलामा हुने क्यान्सरमध्ये यो दोस्रो मुख्य क्यान्सर भए पनि क्यान्सरका कारण महिलाको मृत्यु हुने प्रमुख कारण यही रहेको छ। पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभि खोप प्रारम्भिक किशोरावस्थामा लगाउँदा बढी प्रभावकारी हुने शर्माले बताए।
पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापिलोमा भाइरस (एचपिभि) संक्रमण हो। यस भाइरसका २०० भन्दा बढी प्रकारमध्ये १२ प्रकार क्यान्सर गराउने मानिन्छन्। तीमध्ये १६ र १८ प्रकार सबैभन्दा उच्च जोखिमयुक्त मानिन्छन्। नेपालमा हुने पाठेघरको मुखको क्यान्सरका करिब ८० प्रतिशत केस १६ र १८ प्रकारका भाइरसका कारण हुने गरेको तथ्यांकले देखाउँछ।