काठमाडौं - काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) बाल अस्पतालमा ३ करोड बराबरको ‘वंश रत्न स्मृति बाल उपचार’ अक्षयकोष स्थापना गरिएको छ।
काठमाडौं २९ अनामनगरक निवासी बालकृष्ण श्रेष्ठ नेभा र उनकी धर्मपत्नी बेगम कुमार श्रेष्ठले किओच अस्पतालमा अक्षयकोष स्थापना गरेका हुन्।
किओच अस्पतालमा उपचारका लागि आउने विपन्न परिवारका बाल रोगीहरुलाई आवश्यक सहयोग प्रदान गर्ने उद्देश्यले उक्त अक्षयकोष स्थापना गरिएको अस्पतालले जनाएको छ।
कार्यक्रममा डा भगवान कोइराला र दाता बालकृष्ण र उनको परिवारको उपस्थिति थियो। उनीहरुले स्थापना गरेको अक्षयकोषबाट विपन्न परिवारका बालबालिकालाई उपचारमा धेरै सहयोग मिल्ने अस्पतालले जनाएको छ।