काठमाडौं- नेपालमा नवजात शिशुको मृत्युदरमा सुधार आएको पछिल्लो अध्ययनले देखाएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको ‘चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ ले नवजात शिशुको मृत्युमा सुधार आएको देखाएको हो।
सर्वेक्षण अनुसार नेपालमा प्रति एक हजार जीवित जन्ममा १७ जना नवजात शिशुको मृत्यु हुने गरेको छ। यसअघि सन् २०२२ मा सार्वजनिक भएको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको (एनडिएचएस) तथ्यांक अनुसार प्रति एक हजार जीवित जन्ममा २१ जना नवजात शिशुको मृत्यु हुने गरेको थियो। सन् २०१६ को तथ्यांकले पनि नवजात शिशुको मृत्यु प्रति एक हजारमा २१ नै थियो।
तथ्यांक कार्यालयले सन् २०२४/२५ को प्रतिवेदनले सन् २०१६ देखि सुधार आउन नसकेको नवजात शिशुको मृत्युदरमा सुधार देखाएको हो।
सर्वेक्षणको प्रतिवेदन अनुसार ग्रामीण क्षेत्रमा नवजात शिशुको मृत्यु १९ र सहरी क्षेत्रमा १६ रहेको छ। सन् २०२२ मा सार्वजनिक एनडिएचएस प्रतिवेदन अनुसार ग्रामीण क्षेत्रमा नवशिशु मृत्यु २५ र शहरी क्षेत्रमा १९ थियो।
दिगो विकास लक्ष्य अनुसार सन् २०३० भित्र नवशिशु मृत्युदर १२ मा झार्ने लक्ष्य रहेको छ। तर पछि नेपालले उक्त लक्ष्यलाई संशोधन गर्दै १६ बनाएको छ।
नवजात शिशु भन्नाले जन्मेको २८ दिन भित्रका बच्चालाई बुझ्नुपर्छ। २८ दिनभन्दा केही माथिका शिशु (पोस्ट नियोनेटल)को मृत्यु भने नेपालमा प्रति एक हजार जीवित जन्ममा १० रहेको छ। यो आधारमा हेर्दा नेपालमा शिशु मृत्युदर (नवजात शिशु र पोस्ट नियोनेटल मृत्यु) प्रति एक हजार जीवित जन्ममा २७ रहेको देखिन्छ।
प्रदेश अनुसार नवजात शिशुको मृत्यु?
तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ अनुसार सबैभन्दा बढी नवजात शिशुको मृत्यु सुदूरपश्चिम प्रदेशमा रहेको छ। सुदूरपश्चिममा प्रति एक हजार जीवित जन्ममा २६ जना नवशिशुको मृत्यु हुन्छ। सबैभन्दा कम भने बागमती प्रदेशमा एक हजार जीवित जन्ममा १० जना नवजात शिशुको मृत्यु हुन्छ।
नवजात शिशुको मृत्युदर प्रति एक हजार जीवित जन्ममा
कोशी प्रदेश- १४
मधेश प्रदेश- २०
बागमती प्रदेश- १०
गण्डकी प्रदेश- १४
लुम्बिनी प्रदेश- १६
कर्णाली प्रदेश- २२
सुदूरपश्चिम प्रदेश¬- २६
नवजात शिशुको मृत्युको कारण
विभिन्न अध्ययन अनुसार नेपालमा नवजात शिशुको मृत्युको मुख्य कारण भनेको संक्रमणलाई देखिएको छ। अझै पनि स्वास्थ्य संस्थामा नगई घरमै सुत्केरी हुने महिलाको संख्या बढी भएकाले संक्रमणको बढी प्रभाव देखिएको छ।
संक्रमणबाहेक जन्मँदा कम तौल, सिताङ्ग, श्वास फेर्न कठिनाइ अर्थात् निस्सासिनु, समयअघि नै जन्मिने कारणले नवजात शिशुको मृत्यु उच्च रहेको अध्ययनहरुले देखाएको छ।
