काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफू नेतृत्वमा रहँदा प्रतिबद्धताअनुसार सुधारका कार्यहरू अघि बढे पनि अहिले त्यसमा अवरोध आएको भन्दै दुःख व्यक्त गरेका छन्। काठमाडौं ५ मा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बीमा नागरिकको उपचार पाउने मौलिक अधिकारसँग जोडिएकाले यसलाई कुनै पनि हालतमा बन्द गर्न नहुने बताए।
‘हामी सरकारमा हुँदा स्वास्थ्य बीमा कहिँ पनि बन्द भएको थिएन र यो सरकारले पनि यसलाई बन्द हुन दिनु हुँदैन,’ पौडेलले भने। उनले आफू स्वास्थ्य तथा जनसंख्या मन्त्री रहँदा बीमा प्रणालीमा नीतिगत तथा व्यावहारिक सुधार अघि बढाएर कानूनी संशोधनको चरणमा पुर्याएको स्मरण गरे। तर, सरकारबाट बाहिरिएपछि उक्त प्रक्रिया रोकिएकोमा उनले गुनासो गरे। स्वास्थ्य बीमा बन्द भएमा सामान्य नागरिकले उपचार नै गर्न नसक्ने भयावह स्थिति आउने उनको चेतावनी थियो।
पौडेलका अनुसार स्वास्थ्य बीमा सुधारको स्पष्ट दृष्टिकोणसहितको प्रतिवेदन तयार भइसकेको र त्यो राष्ट्रिय सभामार्फत कानून संशोधन हुने कार्यसूचीमा रहेको थियो। आफूले सुरु गरेको सुधारकै कारण विपन्न नागरिकले ३ लाखदेखि साढे ७ लाख रुपैयाँसम्मको सुविधा पाउने अवस्था सिर्जना भएको उनले दाबी गरे। ‘हामीले तयार गरेको प्रतिवेदनका आधारमा प्रक्रिया लागू गर्ने हो भने एक वर्षमा बीमाले १ खर्ब रुपैयाँसम्म आम्दानी गर्न सक्छ,’ उनले थपे, ‘त्यसो भएमा आवश्यक पर्नेलाई ५ लाख दिन कुनै गाह्रो हुने छैन। कसरी गर्ने र कसलाई दिने भन्ने सबै खाका हामीले तयार पारेर छाडेका छौँ।’
क्षेत्रीय विकासका सन्दर्भमा महामन्त्री पौडेलले विगतमा सांसद रहँदा आफूले धेरै काम गरेको दाबी गरे। चक्रपथ विस्तारका लागि संसदमा प्रस्ताव लैजानेदेखि दबाब यात्रासम्म गरेकाले अहिले त्यसको नतिजा देखिन थालेको उनले बताए। महाराजगञ्जदेखि मण्डिखाटारसम्मको काम अघिल्लो बजेटबाट भइरहेको र बसुन्धरासम्मको दोस्रो खण्डको काम चीन सरकारले गर्ने गरी अघि बढेको उनले जानकारी दिए। साथै, मेलम्चीको खानेपानी वितरण प्रणाली सुधार, सार्वजनिक जग्गा संरक्षण र विष्णुमती करिडोर निर्माणमा पनि आफ्नो समन्वयकारी भूमिका रहेको उनले उल्लेख गरे।
संसदमा निजी विधेयक दर्ता गर्ने आफू मात्र सांसद भएको दाबी गर्दै उनले ५ वटा सार्वजनिक महत्त्वको प्रस्ताव र जनचासोका ऐनहरूमा संशोधन दर्ता गरेको बताए। मन्त्री हुँदा १५ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिने राष्ट्रिय कार्यक्रम सुरु गरेको र आर्थिक अवस्था कमजोर भएकाहरूका लागि जलनको उपचार निःशुल्क गराएको उनले स्मरण गरे। आफ्नो विगतको काम र अनुभवका आधारमा आफूलाई परिपक्व युवा उम्मेदवारका रूपमा प्रस्तुत गर्दै उनले मतदातासँग सहयोगको अपेक्षा गरे।