काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालले ज्येष्ठ नागरिकको स्वास्थ्य सेवालाई लक्षित गर्दै जेरियाट्रिक मेडिसिन कार्यक्रम सञ्चालनमा ल्याएको छ।
बढ्दो आयु, फेरिँदो जीवनशैली र दीर्घकालीन रोगको चापसँगै ज्येष्ठ नागरिकका स्वास्थ्य समस्या जटिल बन्दै गएको अवस्थामा न्याम्सले जेरियाट्रिक मेडिसिन फेलोसिप कार्यक्रम सुरु गरेको शिक्षाध्यक्ष प्राडा लोचन कार्कीले जानकारी दिए।
प्राडा कार्कीका अनुसार यो कार्यक्रम केवल नयाँ शैक्षिक पाठ्यक्रम थपिएको विषय होइन, बरु नेपालमा ज्येष्ठ नागरिकलाई हेर्ने चिकित्सा दृष्टिकोणमै परिवर्तन ल्याउने प्रयास हो।
'हामीले अहिलेसम्म बृद्धबृद्धाको उपचार एक–एक रोगका रूपमा गर्दै आयौँ। तर बहु–रोग, औषधिको अत्यधिक प्रयोग, मानसिक स्वास्थ्यसँगै सामाजिक पक्षलाई एकैसाथ नहेरी गुणस्तरीय सेवा सम्भव हुँदैन,' प्रा.डा. कार्की भन्छन्।
जेरियाट्रिक मेडिसिन फेलोसिपको पहिलो ब्याचमा तीन जनाले तालिम लिइरहेका छन्। डा विनोद पन्थ, डा सनी बज्राचार्य र डा मिलन खड्काले पहिलो ब्याचमा फेलोसिप पाएका हुन्।
नेपालमा ६० वर्षमाथिको जनसंख्या तीव्र रूपमा बढिरहेको छ। आधुनिक चिकित्सा र सार्वजनिक स्वास्थ्यका उपलब्धिले आयु त बढायो, तर त्यससँगै दीर्घकालीन हेरचाह, पुनर्स्थापना र सम्मानजनक जीवन सुनिश्चित गर्ने चुनौती पनि थपिएको छ। यही आवश्यकता बुझेर न्याम्सले जेरियाट्रिक मेडिसिनलाई संस्थागत रूपमा अघि बढाएको उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले जानकारी दिए।
'यो फेलोसिप कार्यक्रमको लक्ष्य केवल विशेषज्ञ उत्पादन गर्नु होइन,' उपकुलपति प्रा.डा. बस्नेत भन्छन्, 'हाम्रो उद्देश्य ज्येष्ठ नागरिकलाई केन्द्रमा राखेर समग्र उपचार पद्धति विकास गर्नु, परिवार र समुदायलाई उपचार प्रक्रियामा जोड्नु र बृद्ध जीवनको गुणस्तर सुधार गर्नु हो।'
शिक्षाध्यक्ष प्राडा कार्कीका अनुसार बेलायतको रोयल कलेज अफ फिजिसियन्स अफ एडिनबर्गसँगको संस्थागत सहकार्यमा फेलोसिप कार्यक्रम सुरु भएको हो। अन्तर्राष्ट्रिय अभ्याससँग तालमेल मिलाउँदै तयार गरिएको यो फेलोसिप कार्यक्रमले नेपालका चिकित्सकलाई नयाँ दृष्टि र सीप दिने विश्वास गरिएको छ।
'रोग निको पार्नु मात्र सफलता होइन, बृद्धबृद्धालाई आत्मनिर्भर, सक्रिय र सम्मानित जीवनतर्फ डोर्याउनु नै जेरियाट्रिक मेडिसिनको सार हो,' प्राडा कार्कीले भने।
बेलायतको रोयल कलेजदेखि भारत बैंगलोरसम्म पोष्टिङ
डा कार्कीका अनुसार एक वर्षे फेलोसिप कार्यक्रमलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यासलाई जोडेर तयार गरिएको छ। तालिम अवधिभर फलोजले नेपालभित्र र बाहिर दुवै ठाउँमा व्यावहारिक अनुभव हासिल गर्छन्। जसअन्तर्गत बेलायतको रोयल कलेज अन्तर्गतका अस्पतालहरुमा ६ हप्ताको क्लिनिकल एक्सपोजर र भारतको इन्डिया एलायन्स फर डिमेन्सिया बैंगलोरमा २ हप्ताको पोस्टिङ समेत हुने छ। नेपालमा भने वीर अस्पतालको जेरियाट्रिक वार्ड र ओपिडीमा क्लिनिकल तालिमसँगै बालुवाटारस्थित अरोगिन केयर होम र पाटन अस्पतालमामा प्यालियटिभ केयर पोस्टिङ समेत हनेछ।
यसका साथै फेलोसिप सम्पन्न भएपछि फेलोजले न्याम्स र रोयल कलेज अफ फिजिसियन्स अफ एडिनवर्गको लोगो सहितको प्रमाणपत्र पाउने छन्।
फेलोसिप कार्यक्रमको शैक्षिक शैक्षिक गुणस्तर र व्यवस्थापन सुनिश्चित गर्न प्राडा लोचन कार्कीको संयोजकत्वमा समिति बनाइएको छ। समितिमा डा उमेश बोगटी, डा. अनन्त अर्याल, प्रा. डा. सुरेन्द्र श्रेष्ठ र डा. मिनचन्द्र अधिकारी सदस्य छन्।
