धरान- लक्ष्मी सनराइज बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ३० थान पेसेन्ट ट्रान्सफर ट्रली सहयोग गरेको छ। बैंकको प्रधान कार्यालय काठमाडौं र धरान शाखाको समन्वयमा उपलब्ध गराइएका यी ट्रलीहरू मेट्रेस र आईभी स्ट्याण्डसहितका रहेका छन्। गत माघ २० गते प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडि आयोजित एक कार्यक्रमका बीच ती स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरिएको हो।
उक्त हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका तर्फबाट उपकुलपति प्राडा. विक्रम प्रसाद श्रेष्ठ, रजिष्ट्रार प्राडा. सूर्य प्रसाद संग्रौला लगायत विभाग प्रमुख, चिकित्सक र कर्मचारीहरूको उपस्थिति थियो। बैंकका तर्फबाट केन्द्रीय कार्यालयका विवेक कुमार निरौला, कोशी प्रदेश प्रमुख बार्बरिक पोखरेल र धरान शाखा प्रमुख संजोग राजभण्डारी लगायतको सहभागिता रहेको थियो। प्राप्त ट्रलीहरू प्रतिष्ठानको इमर्जेन्सी विभागमा बिरामीहरूको सेवाका लागि प्रयोग गरिने जनाइएको छ।
प्रतिष्ठानका प्रवक्ता प्राडा. शमशेर श्रेष्ठका अनुसार बैंकको यस सहयोगले आपतकालिन सेवामा बिरामीको सुरक्षित र सहज आवगमन सुनिश्चित गर्नुका साथै स्वास्थ्य सेवाको गुणस्तर बढाउन महत्त्वपूर्ण योगदान पुऱ्याउनेछ। प्रतिष्ठानले बैंकको यस सराहनीय कार्यको उच्च कदर गर्दै हार्दिक आभार समेत व्यक्त गरेको छ। पछिल्लो समय प्रतिष्ठानलाई सहयोग गर्ने मनकारी दाताहरूको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको छ।