काठमाडौं- नेपाल औषधि उत्पादक संघको आयोजनामा आगामी फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा 'नेपाल फर्मा एक्स्पो २०२६' को दशौं संस्करण आयोजना हुने भएको छ।
संघले बुधबार पत्रकार सम्मेलन गर्दै एक्सपोका विषयमा जानकारी दिएको हो। 'फर्मामा नवीनता: भोलिको स्वास्थ्यका लागि' भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस एक्सपोले नेपाली औषधि क्षेत्रको आधुनिक रूपान्तरणलाई उजागर गर्ने लक्ष्य राखेको पत्रका सम्मेलनमा जानकारी दिइयो।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यस पटकको एक्स्पोमा २०० भन्दा बढी स्टलहरू रहनेछन्, जसमा औषधि उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, ल्याब टेक्नोलोजी, कच्चा पदार्थ, प्याकिङ्ग उत्पादक र मेसिनरीहरूको प्रदर्शन गरिनेछ। विशेषतः यस एक्स्पोमा ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको रहनेछ। जसले कच्चा पदार्थ, प्याकिङ सामग्री र नयाँ प्रविधिको क्षेत्रमा विश्वबजारमा आएका नवीनतम प्रविधिलाई नेपाली बजारसँग जोड्ने र बाँकी १० प्रतिशत स्टलहरूमा स्वदेशी औषधि उद्योगका उत्कृष्ट उत्पादनहरू प्रदर्शन गरिनेछ।
आजका औषधि विगतमा भएका रिसर्च एन्ड डेभलप्मेन्ट (आरएनडी) अनुसार उत्पादन भएका र आजका दिनमा शत प्रतिशत नयाँ आरएनडी भइरहेका छन्, जसले भविष्यमा बन्ने औषधिको सुनिश्चितता गर्ने विषयमा जोड दिएको औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारी बताउँछन्।
'हामीले हिजोका दिनमा गरेका अनुसन्धान र आविष्कारहरू आजको औषधि उद्योगको आधार हुन्। आजको हाम्रो नवीन सोच र प्रविधिमा गरिने लगानीले नै भोलिको स्वस्थ नेपालको भविष्य सुनिश्चित गर्नेछ,' उनले भने, 'यो एक्स्पो केवल प्रदर्शनी मात्र नभई नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउने एउटा बलियो खुड्किलो हो।'
संघका महासचिव सन्तोष बरालले कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै भने 'धेरैलाई अझै पनि नेपालमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय औषधि बन्छ भन्ने थाहा छैन । यस एक्स्पोमार्फत हामी सरोकारवाला र आम सर्वसाधारणलाई नेपालमै विश्वस्तरीय औषधि उत्पादन हुन्छ भन्ने विश्वास दिलाउन चाहन्छौँ । औषधि क्षेत्रको ज्ञान लिन चाहने जो-कोहीका लागि प्रवेश नि:शुल्क गरिएको छ ताकि सबैले नेपाली औषधिको क्षमता र सामर्थ्य बुझ्दै नेपालमै गुणस्तरीय औषधि उत्पादन भइरहेको विषयमा जानकारी पाउनुहुनेछ।'
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले एक्सपोमा विभागले पनि सहकार्य गरेको र विभागको स्टल पनि एक्सपोमा हुने जानकारी दिए। एक्सपोले गुणस्तरीय औषधि कसरी उत्पादन हुन्छन् र नेपाली औषधि उद्योगको क्षमता कस्तो छ भन्नेदेखि कस्ता प्रविधिहरुको प्रयोग हुने रहेछ भन्ने विषयमा जानकारी प्रदान गर्ने उनले बताए।
यस पटकको एक्स्पोलाई संघले एउटा उत्सवका रूपमा मनाउँदै विभिन्न पूर्व-कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको एक्सपोका मिडिया कोअर्डिनेटर शैलेश वैद्यले जानकारी दिए। उनका अनुसार पहिलो कार्यक्रम अन्तर्गत माघ २ र ३ गते १६ वटा उद्योगको सहभागितामा फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भइसकेको छ। खेलकुदलाई निरन्तरता दिँदै आगामी फागुन ८ र ९ गते ८ वटा उद्योगहरूको सहभागितामा 'क्रिकसल' प्रतियोगिता आयोजना गरिनेछ। खेलकुदसँगै शैक्षिक र व्यावसायिक विकासका लागि फागुन ८ र ९ गते नै बजारमा कार्यरत १०० जना औषधि बजार प्रतिनिधि र १०० जना म्यानेजरहरूका लागि विशेष तालिम तथा सेमिनार सञ्चालन गरिनेछ।
'प्राविधिक पक्षलाई अझ सुदृढ बनाउन एक्स्पोको एक दिन अगाडि फागुन २७ गते नेपाली औषधि उद्योगमा कार्यरत क्वालिटी कन्ट्रोलका फर्मासिस्टहरूलाई अन्तर्राष्ट्रिय स्तरका प्राविधिकहरूले गुणस्तरसम्बन्धी विशेष सेमिनार प्रदान गर्नेछन्,' वैद्यले भने, 'एक्स्पोको पहिलो दिन फागुन २८ गते बिहान ८ बजे भव्य प्रभातफेरि गरी कार्यक्रमको औपचारिक सुरुवात गरिनेछ।'