काठमाडौं - ४१ औँ एसिया प्यासिफिक एकेडेमी अफ अप्थलमोलोजी (एपीएओ) कंग्रेस तथा ३७ औँ एनुअल साइन्टीफिक मिटिङ अफ द हङकङ अप्थलमोलोजीकल साइम्पोसिस सम्पन्न भएको छ।
आइज अफ फ्युचर इनोभेटिङ अप्थलमोलोजी भन्ने नाराका साथ फेब्रुअरी ५ देखि ८ सम्म हङकङमा सम्मेलन भएको थियो। यस सम्मेलनमा नेत्र स्वास्थ्यका क्षेत्रमा काम गर्ने विभिन्न व्यक्तित्व र संस्थाहरुलाई विभिन्न अवार्डबाट सम्मानित गरिएको छ।
नेपाल अप्थाल्मिक सोसाइटीका महासचिव डा तेजसु सिंह मल्लका अनुसार सम्मेलनमा भिट्रियो रेटिना सर्जन डा संयम बजिमायालाई एपीएओ डिस्टिङग्युस्ड सर्भिस अवार्डबाट सम्मानित गरिएको छ।
साथै सगरमाथ चौधरी आँखा अस्पताल लहानलाई एपीएओ आउटस्ट्याडिंग सर्भिस इन प्रिभेन्सन अफ ब्लाइन्डनेस अवार्ड प्रदान गरिएको छ। यी दुवै सम्मानहरु नेपाल अप्थल्मिक सोसाइटीको तर्फबाट आँखा स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप प्रदान गरिएको हो।
एपीएओ डिस्टिङग्युस्ड सर्भिस अवार्ड सदस्य राष्ट्रका ती नेत्ररोग विशेषज्ञहरुलाई प्रदान गरिन्छ, जसले आफ्नै देश तथा एसिया प्यासिफिक क्षेत्रमा नेत्र चिकित्सा सेवाको विकास र सुदृढीकरणमा विशिष्ट योगदान पुर्याएका हुन्छन्। यसअघि नेपालबाट डा चन्द्र बजर्नी, डा सन्दुक रुइत, डा रीता गुरुङ, डा अनु मानन्धर, डा मीनु चौधरी, डा लीला राज पुरी, डा सगुन नारायण जोशी, डा सुरेश राज पन्त, डा चेतराज पन्त, डा रोहित सैजु, डा सुमन थापा र डा मोहन बज्राचार्य लगायतले यो अवार्ड प्राप्त गरिसकेका छन्।
यस्तै, एपीएओ आउटस्ट्याडिंग सर्भिस इन प्रिभेन्सन अफ ब्लाइन्डनेस अवार्ड डा. सल्मा केसी, नेपाल आई हस्पिटल, बी.पी. कोइराला लायन्स सेन्टर, हुकुम प्रसाद पोखरेल, अनिल गोर्खाली, शैलेश कुमार मिश्र, विमल कुमार पौड्याल तथा युद्धध्वज सापकोटा लगायतले यो सम्मान प्राप्त गरिसकेका छन्।
यस्तै, तिलगंगा आँखा प्रतिष्ठानका बाल नेत्ररोग विशेषज्ञ डा सृजना अधिकारीले एपीएओ एचिभमेन्ट अवार्ड र डा सुधा रानाभाटले यासुओ टानो ट्राभल ग्रान्ट २०२६ प्राप्त गरेका छन्। करिब १५ हजार सहभागी रहेको सम्मेलनमा नेपालबाट ५० भन्दा बढी नेत्ररोग विशेषज्ञहरुको उपस्थिति रहेको थियो।