काठमाडौं - चितवनस्थित भरतपुर अस्पतालले फागुन १ देखि बिमित परिवारलाई बहिरंग (ओपिडी) सेवा मार्फत अधिकतम २५ हजारसम्मको उपचार सेवा उपलब्ध गराउने निर्णय लागू गर्दैछ।
स्वास्थ्य बीमा बोर्डले गरेको उक्त निर्णयलाई भरतपुर अस्पतालले फागुन १ गतेदेखि लागू गर्न लागेको हो। बोर्डले व्ययभार कम गर्ने र स्वास्थ्य बीमा कार्यक्रमलाई थप दिगो बनाउने भन्दै बीमा गरेका परिवारलाई एक आर्थिक वर्षमा २५ हजारसम्मको ओपिडी उपचार सेवा मात्र उपलब्ध गराउने निर्णय गरेको थियो।
प्रति परिवा (बढीमा पाँच) जनाको लागि वार्षिक २५ हजार र प्रत्येक थप एक सदस्य बराबर ५ हजार बराबरको थप सेवा सुविधा निर्धारण गरिएको छ।
बाँकी रकम इमरजेन्सी र अन्तरंग सेवाका लागि उपयोग गर्न सकिने भरतपुर अस्पतालले जनाएको छ। भरतपुर अस्पतालमा उपचारका लागि आउने ७० देखि ७५ प्रतिशत बिरामी स्वास्थ्य बीमाका हुने गरेका छन्।