दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पश्चिम नेपालको थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा रहेको ‘सिकलसेल एनिमिया’को बृहत् परीक्षण तथा अनुसन्धान सुरु गरेको छ। प्रतिष्ठानले अस्पतालमा निःशुल्क परीक्षण सेवा सञ्चालन गरिरहेकोमा अब यसलाई पालिकास्तरमा अभियानकै रूपमा विस्तार गरेको हो।
अभियानको पहिलो चरणमा ५ हजार जनाको निःशुल्क परीक्षण गर्ने लक्ष्यअनुसार बुधबार देउखुरीको राप्ती आधारभूत अस्पताल सिसहनियामा विशेष शिविर आयोजना गरियो। शिविरमा २ सय ३५ पुरुष र ३ सय २८ महिला गरी कुल ५ सय ६३ जना लाभान्वित भएको निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थीले जानकारी दिए। यसका साथै प्रतिष्ठानको अस्पतालमा मात्रै ३ सय २० जनाले जाँच गराइसकेका छन्। शिविरमा डिन, निर्देशक, फिजिसियन, नर्सिङ स्टाफ र ल्याब टेक्निसियनसहितको ठूलो टोली खटिएको थियो।
प्रतिष्ठानमा अत्याधुनिक मेसिन जडान भएसँगै जिल्लाभर अभियान थालिएको निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्सालले बताए। लम्सालका अनुसार चालू आर्थिक वर्षमा ५ हजार र आगामी आव २०८३/०८४ मा १० हजार जनसंख्याको परीक्षण गर्ने लक्ष्य छ।
'यो विश्वकै सबैभन्दा बढी जनसंख्या समेटिएको सामुदायिक तहको बहुवर्षीय अनुसन्धान हुनेछ,' लम्सालले भने। यसअघि अफ्रिकामा ३४ हजार व्यक्तिमा यस्तो अनुसन्धान भएको थियो भने राप्ती प्रतिष्ठानले ३ वर्षमा ३५ हजार र ५ वर्षमा कम्तिमा ७० हजार व्यक्तिको परीक्षण गरी अनुसन्धान गर्ने लक्ष्य राखेको छ। यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नीति निर्माण र उपचार पद्धति विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।
प्रतिष्ठानका निमित्त डिन प्रा.डा. रमेश कँडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुदानमा यो कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। हाल प्रतिष्ठानमा ३ सय १५ जना सिकलसेलका बिरामीले नियमित उपचार लिइरहेका छन्। तथ्यांकअनुसार १ वर्षका शिशुदेखि ६५ वर्षका वृद्धसम्म र एउटै परिवारका चार जनासम्ममा यो रोग देखिएको छ। थारू समुदायमा बढी देखिए पनि पछिल्लो समय योगी र दलित समुदायमा समेत संक्रमण पुष्टि भएको छ।
के हो सिकलसेल एनिमिया?
वैज्ञानिक अध्ययनअनुसार औलो (मलेरिया) को प्रकोप बढी हुने क्षेत्रमा मानव शरीरको रक्तकोषले आफूलाई बचाउन गोलोबाट हँसिया जस्तो आकारमा बदल्ने प्रक्रिया नै सिकलसेल हो। यो सरुवा रोग नभई 'जिन' बाट सन्तानमा सर्ने वंशाणुगत रोग हो। यसले शरीरमा रगतको कमी (रक्तअल्पता), जोर्नी र मेरुदण्ड दुख्ने, जण्डिस र कलेजो सुन्निने जस्ता समस्या निम्त्याउँछ।
चिकित्सकहरूका अनुसार यसको पूर्ण उपचार नभए पनि समयमै पहिचान भएमा जीवन सहज बनाउन सकिन्छ। बिरामीले प्रशस्त पानी पिउने, पोसिलो खानेकुरा खाने र अत्यधिक चिसो वा गर्मीबाट बच्नुपर्ने सुझाव दिइएको छ। रोगको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा गई परीक्षण गराउन प्रतिष्ठानले आग्रह गरेको छ।