पिट्सबर्ग (अमेरिका)- अमेरिकाको युनिभर्सिटी अफ पिट्सबर्ग मेडिकल सेन्टर (यूपीएमसी) ले नेपाली चिकित्सक डा. शरद ओलीलाई यस वर्षको 'रेस्पेक्ट एन्ड डिग्निटी च्याम्पियन अवार्ड' बाट सम्मानित गरेको छ।
यो पुरस्कार यूपीएमसीको सबैभन्दा प्रतिष्ठित सम्मानहरूमध्ये एक मानिन्छ। बिरामीको हेरचाह, व्यावसायिक सहकार्य, सम्मान, मर्यादा र समावेशी संस्कृतिको प्रवर्द्धनमा असाधारण योगदान पुर्याउने कर्मचारीहरूलाई यो अवार्ड प्रदान गरिन्छ। करिब एक लाख कर्मचारी र ४० भन्दा बढी अस्पतालहरू रहेको यूपीएमसी सञ्जालमा यस वर्ष डा. ओली यो अवार्ड पाउने एक मात्र नेपाली र सम्भवतः एक मात्र एसियाली चिकित्सक हुन्।
पिट्सबर्गस्थित प्रसिद्ध 'एक्रिस्योर स्टेडियम'को विशाल स्क्रिनमा डा. ओलीको नाम र सम्मान प्रदर्शित गरिएको थियो। भव्य समारोहका बीच उनले रेड कार्पेटमा हिँड्दै यो प्रतिष्ठित अवार्ड ग्रहण गरेका थिए। यो सम्मानले उनको व्यावसायिक कुशलता मात्र नभई बिरामी र सहकर्मीप्रतिको सहानुभूतिपूर्ण व्यवहारलाई समेत उच्च मूल्याङ्कन गरेको छ।
को हुन् डा. शरद ओली?
नेपालको चितवन स्थायी घर भएका डा. शरद ओली विगत १२ वर्षदेखि अमेरिकामा क्लिनिकल अभ्यासमा संलग्न छन्। अनुभवी पल्मोनरी तथा क्रिटिकल केयर (फोक्सो तथा सघन उपचार) विशेषज्ञका रूपमा चिनिने उनले नेपालको काठमाडौं विश्वविद्यालय अन्तर्गत नोबेल मेडिकल कलेजबाट एमबीबीएस गरेका थिए।
त्यसपछि अमेरिका पुगेर उनले न्यूयोर्कस्थित म्यामोनाइड्स मेडिकल सेन्टरबाट आन्तरिक चिकित्सामा रेसिडेन्सी र मिशिगनको वेन स्टेट युनिभर्सिटीबाट पल्मोनरी तथा क्रिटिकल केयर मेडिसिनमा फेलोसिप पूरा गरेका थिए।
हाल डा. ओली पेन्सिल्भेनियास्थित यूपीएमसीमा जटिल श्वासप्रश्वास तथा गम्भीर अवस्थाका बिरामीहरूको उपचारमा संलग्न छन्। उनको विशेष चासो 'इन्टरस्ट्रिटियल लंग डिजिज', फोक्सोको गाँठा (Lung Nodules) र इन्टरभेन्शनल पल्मोनोलोजीमा रहेको छ।
उपचारका साथै उनी चिकित्सा अनुसन्धानमा पनि उत्तिकै सक्रिय छन्। उनका थुप्रै वैज्ञानिक लेखहरू प्रतिष्ठित अन्तर्राष्ट्रिय मेडिकल जर्नलहरूमा प्रकाशित भइसकेका छन्।