काठमाडौं- पूर्व स्वास्थ्य मन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपालले स्वास्थ्य क्षेत्रको विद्यमान संरचनागत समस्या समाधान गर्दै आगामी दिनमा सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने सङ्कल्प गरेको छ। आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै जसपाले स्वास्थ्यलाई उच्च प्राथमिकताको सार्वजनिक सेवाका रूपमा परिभाषित गरेको छ।
जसपाले नेपालको स्वास्थ्य क्षेत्र लामो समयदेखि व्यवस्थापकीय कमजोरी, अनियन्त्रित निजीकरण र झन्झटिलो बीमा प्रणालीका कारण थला परेको निष्कर्ष निकालेको छ। स्वास्थ्य सेवा महँगो हुँदा आम नागरिकको पहुँचभन्दा बाहिर गएको भन्दै पार्टीले समयसीमासहितको व्यावहारिक सुधार लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
'जसपा, नेपाल स्वास्थ्यलाई उच्च प्राथमिकताको सार्वजनिक सेवा मानी दीर्घकालीन योजनाबाट प्रेरित भई समयसीमासहितको स्वास्थ्य नीतिमा व्यावहारिक सुधार लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । जसले स्वास्थ्य सेवालाई पूर्णरूपमा नागरिक केन्द्रित, निःशुल्क र गुणस्तरीय सेवा बनाउनेछ,' घोषणापत्रमा भनिएको छ।
घोषणापत्रमा रहेका स्वास्थ्यका विषहरु
नेपालको स्वास्थ्य क्षेत्र लामो समयदेखि संरचनागत तथा व्यवस्थापकीय कमजोरी, निजीकरण, झन्झटिलो बीमा प्रणाली र गहिरिँदो असमान पहुँचको समस्याबाट ग्रसित छ । जसले गर्दा स्वास्थ्य सेवा बढी खर्चिलो र आम नागरिकको पहुँचबाहिर छ । जसपा, नेपाल स्वास्थ्यलाई उच्च प्राथमिकताको सार्वजनिक सेवा मानी दीर्घकालीन योजनाबाट प्रेरित भई समयसीमासहितको स्वास्थ्य नीतिमा व्यावहारिक सुधार लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । जसले स्वास्थ्य सेवालाई पूर्णरूपमा नागरिक केन्द्रित, निःशुल्क र गुणस्तरीय सेवा बनाउनेछ।
प्रमुख कार्यक्रमहरू
सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिनेछ ।
हरेक प्रदेशमा कम्तिमा एउटा अत्याधुनिक बहुविशिष्टीकृत सेवाप्रदायक अस्पताल (Super-Speciality Hospital) र एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका साथै हरेक स्थानीय तहमा एउटा सुविधासम्पन्न अस्पताल स्थापना गरिनेछ ।
स्वास्थ्य बीमा कार्यक्रमलाई सहज र आम नागरिकको पहुँचमा ल्याइनेछ ।
सबैका लागि उत्कृष्ट र सुविधाजनक अस्पताल सेवा सुनिश्चित गर्न एकरूपता गुणस्तर मापदण्ड लागू गरिनेछ ।