काठमाडौं - नेपाल मेडिकल काउन्सिलले विशेष परीक्षाका लागि आवेदन खुला गरेको छ। चैत्र १९ र २० गते हुने विशेष परीक्षाका लागि काउन्सिलले आवेदन खुला गरेको हो।
परीक्षामा सहभागी हुन चाहने चिकित्सकले फागुन १ देखि २८ गतेसम्म फारम फर्न सकिने काउन्सिलले जनाएको छ। फागुन २९ र ३० गते भने विलम्ब शुल्क तिरेर परीक्षामा सहभागी हुन सकिनेछ।
परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक ललितपुरमा हुनेछ। अनलाइन आवेदन फारम भर्ने र बुझाउने व्यवस्था २४ सैँ घण्टा खुला हुनेछ भने अनलाइन बाहेकको माध्यमबाट बुझाइएको आवेदन फारम र शुल्क मान्य नहुने काउन्सिलले जनाएको छ।
विदेशमा अध्ययन गरेकाको हकमा भने आफुले प्राप्त गरेको शैक्षिक उपाधिको आधिकारिक समकक्षता प्रमाणपत्र अनिवार्य रुपमा संलग्न गर्नुपर्नेछ।
साथै विदेशमा अध्ययन गर्न प्रस्थान गरेको मितिदेखि अध्ययन सम्पन्न गरी नेपाल फर्किएको मितिसम्मको अध्यागमन विभागबाट जारी आगमन तथा प्रस्थान (भारत बाहेक) सम्बन्धी पूर्ण विवरणयुक्त आधिकारिक पत्रसमेत अनिवार्य रुपमा पेश गर्नुपर्ने काउन्सिलले जनाएको छ।