काठमाडौं- उज्यालो नेपाल पार्टीले आफ्नो घोषणापत्र सार्वजनिक गर्दै देशभरिका नागरिकलाई तोकिएको स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार उपलब्ध गराउने “निःशुल्क स्वास्थ्य सेवा अभियान” घोषणा गरेको छ। पार्टीका अनुसार आर्थिक अभावकै कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्यसहित स्वास्थ्य सेवालाई मौलिक अधिकारको रूपमा कार्यान्वयन गरिने जनाएको छ।
घोषणापत्रमा हरेक नागरिकले आफू तोकिएको सरकारी स्वास्थ्य संस्थामा निःशुल्क सेवा पाउने व्यवस्था गरिने उल्लेख गरिएको छ। साथै ग्रामीण र दुर्गम भेगमा स्वास्थ्य पहुँच विस्तार गर्न मोबाइल क्लिनिक तथा टेलिमेडिसिन सेवा सञ्चालन गरिने योजना अघि सारिएको छ।
पार्टीले कुपोषणबाट प्रभावित महिला र बालबालिकालाई लक्षित कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। पोषण सुधार, नियमित स्वास्थ्य परीक्षण र आवश्यक औषधोपचार उपलब्ध गराई बालमृत्यु तथा मातृ स्वास्थ्य समस्यालाई घटाउने लक्ष्य राखिएको छ।
घोषणापत्रअनुसार प्रत्येक वडामा मनोसामाजिक परामर्शदाताको सेवा उपलब्ध गराइनेछ। बढ्दो मानसिक तनाव, आत्महत्या र मनोवैज्ञानिक समस्यालाई ध्यानमा राख्दै मानसिक स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्य सेवाकै हिस्सा बनाउने पार्टीको योजना छ।
उज्यालो नेपाल पार्टीले प्राथमिक स्वास्थ्य केन्द्रहरूमा विशेषज्ञ चिकित्सक राख्ने व्यवस्था गर्ने बताएको छ। प्रत्येक स्थानीय तहको स्वास्थ्य संस्थामा कम्तीमा एकजना हाडजोर्नी, स्त्रीरोग वा बालरोग विशेषज्ञ उपलब्ध गराइने गरी संरचना सुदृढ बनाइने उल्लेख गरिएको छ।
पार्टीका नेताहरूले स्वास्थ्य सेवालाई पहुँच, गुणस्तर र समानताको आधारमा पुनर्संरचना गर्दै ग्रामीण क्षेत्रका नागरिकसम्म प्रत्यक्ष लाभ पुर्याउने उद्देश्य रहेको बताएका छन्।