दाङ- एनएमबि बैंक घोराही शाखाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पाँच थान एयर कन्डिसन (एसी) सहयोग गरेको छ।
सोमबार आयोजित एक कार्यक्रममा बैंक घोराही शाखाका म्यानेजर कृष्णप्रसाद भट्टराई र ऋण अधिकृत प्रबिण डागीले संयुक्त रूपमा प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थीलाई एसी हस्तान्तरण गरेका हुन्।
एसी सहयोग प्राप्त भएपछि प्रतिष्ठानको आईसीयू तथा एनआईसीयू कक्षमा उपचाररत बिरामीलाई आवश्यक बातानुकूलित तापक्रममा राख्न सहज हुने अस्पताल निर्देशक प्रा.डा. पन्थीले बताए। साथै, आईसीयू/एनआईसीयूमा प्रयोग हुने मेसिनरी औजार तथा उपकरणलाई पनि उचित तापक्रममा सुरक्षित राख्न सहयोग पुग्ने उनले उल्लेख गरे।
कार्यक्रममा प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्सालले एसीले प्रतिष्ठानका महत्वपूर्ण उपकरण सुरक्षित राख्न महत्वपूर्ण सहयोग पुग्ने भन्दै बैंक म्यानेजरसहित सम्पूर्ण बैंक परिवारलाई धन्यवाद दिए। उनले आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिन बैंकलाई आग्रह गरे।
त्यस्तै, बैंक घोराही शाखाका म्यानेजर भट्टराईले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रतिष्ठानलाई एसी सहयोग गरिएको जानकारी दिए।