काठमाडौं- घट्टेकुलोमा रहेको काठमाडौं नेशनल मेडिकल कलेज तथा टिचिङ अस्पताल (केएनएमसी) निःशुल्क 'सर्जरी तथा स्त्री रोग स्वास्थ्य शिविर' आयोजना गर्ने भएको छ।
कलेजले सर्जरी तथा स्त्रीरोग सम्बन्धी समस्या भएका बिरामीका लागि विशेषज्ञ चिकित्सकबाट परामर्श तथा स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले शिविर आयोजना गर्न लागेको जनाएको छ।
अस्पतालका अनुसार शिविरमा शल्यसम्बन्धी पाइल्स, एनल फिस्टुला तथा फिसर, हर्निया, हाइड्रोसिल, मिर्गौला तथा पित्तथैलीको ढुंगा, डायबेटिक फुट, प्रोस्टेटलगायत समस्याको जाँच तथा परामर्श गरिनेछ।
त्यसैगरी स्त्रीरोग अन्तर्गत महिनावारी अनियमितता, सेतो पानी बग्ने समस्या, पाठेघर झर्ने समस्या, पोस्ट–मेनोपोजल ब्लिडिङ, सन्तान नहुने समस्या, पीसीओडी तथा पाठेघरमा मासु पलाउने समस्या सम्बन्धी परीक्षण र परामर्श सेवा उपलब्ध गराइने अस्पतालले जनाएको छ।
शिविरबाट फलोअप गर्ने बिरामीलाई शल्यक्रियामा ४० प्रतिशत छुट, अल्ट्रासाउण्डमा ५० प्रतिशत छुट र अन्य परीक्षणमा ३० प्रतिशत छुट प्रदान गरिने अस्पतालले जनाएको छ। साथै निःशुल्क पिसाब जाँच तथा निःशुल्क रगतमा चिनी जाँच पनि गरिनेछ।
शिविर फागुन ९ गते (शनिबार) बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौं नेशनल मेडिकल कलेज, घट्टेकुलोमा सञ्चालन हुनेछ।
अस्पतालका अनुसार शिविरबाट धेरै बिरामीले विशेषज्ञ सेवा सहज रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
