काठमाडौं- औषधि उद्योगी र बजार प्रतिनिधिहरूबीचको भाइचारा र उर्जा बढाउन आयोजित 'क्रिकसल' प्रतियोगिताको उपाधि नेपाल फर्मास्युटिकल्स ल्याब (एनपीएल) ले उचालेको छ। नेपाल फर्मा एक्स्पो २०८२ को अवसरमा नेपाल औषधी उत्पादक संघ (एपोन) को मार्केटिङ सर्कलद्वारा आयोजित यस प्रतियोगिताको फाइनलमा एनपीएलले एशियन फर्मास्युटिकल्सलाई स्तब्ध पार्दै च्याम्पियन बनेको हो।
औषधिको बजारमा प्रतिस्पर्धा गर्ने हातहरू शनिबार क्रिकेटको मैदानमा ब्याट र बल समातेर उत्रिएका थिए। उद्योगका कर्मचारी र बजार प्रतिनिधिहरूको मनोबल उच्च राख्ने र उनीहरूबीचको सहकार्यलाई सुदृढ गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताले औषधि क्षेत्रमा नयाँ उत्साह थपेको छ। प्रतियोगितामा एशियन फर्मास्युटिकल्स उपविजेतामा सीमित भयो।
विजेता एनपीएलले नगद ३० हजार रुपैयाँसहित ट्रफी हात पार्यो भने उपविजेता एशियनले १५ हजार रुपैयाँमा चित्त बुझायो। एपोनका महासचिव तथा एक्स्पो संयोजक सन्तोष बरालले विजयी टोलीहरूलाई पुरस्कृत गरेका थिए।
प्रतियोगितामा सहभागि देशका प्रतिष्ठित आठ औषधि उद्योगहरू:
देउराली जनता फर्मास्युटिकल्स
लोमस फर्मास्युटिकल्स
म्याल्नस फर्मा
नेपाल रेमेडिज
फर्मोनिक्स लाइफ साइन्स
क्वेस्ट फर्मास्युटिकल्स
के भन्छन् आयोजक?
एपोन मार्केटिङ सर्कलका संयोजक दिपेश प्रधानका अनुसार औषधि उद्योग र खेलकुदलाई एउटै मञ्चमा ल्याएर कर्मचारीहरूको क्षमता र उत्साह प्रस्फुटन गराउन यो कार्यक्रम सफल भएको छ। खेलले केवल मनोरञ्जन मात्र नभई उद्योगभित्रको आन्तरिक सम्बन्धलाई पनि बलियो बनाएको सल्लाहकार ऋषि भण्डारीले बताए।
यो प्रतियोगिता आगामी मार्च १२ देखि १४ (फागुन २८–३०) सम्म भृकुटीमण्डपमा आयोजना हुने 'नेपाल फर्मा एक्स्पो २०२६' को प्रवर्द्धनात्मक हिस्सा समेत हो। दशौँ संस्करणको रूपमा हुन लागेको यो एक्स्पोले औषधि क्षेत्रमा भित्रिएका नयाँ प्रविधि, गुणस्तर नियन्त्रण र अन्तर्राष्ट्रिय साझेदारीलाई मुख्य एजेन्डा बनाएको छ।