कावासोती, नवलपुर- स्तन क्यान्सर र घरेलु हिंसाविरुद्ध कडा संघर्ष गर्दै सचेतनाको ज्योति फैलाएकी स्वर्गीय पत्रकार राधा बस्यालको स्मृतिमा स्थापित ‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार’ यस वर्ष गोरखापत्रकर्मी सरोज ढुङ्गेललाई प्रदान गरिएको छ।
शनिबार नवलपुरको कावासोतीमा आयोजित एक विशेष समारोहमा ढुङ्गेललाई नगद २० हजार रुपैयाँ र प्रमाणपत्रसहित सम्मान गरियो।
पुरस्कार वितरण गर्दै स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले क्यान्सर जस्ता नसर्ने रोगहरू नेपालका लागि ठूलो चुनौती बन्दै गएको बताए। उनले भने 'नेपालमा दैनिक औसत १० जनाको मृत्यु नसर्ने रोगका कारण भइरहेको छ। यदि समयमै पहिचान र उपचार गर्ने हो भने क्यान्सर पूर्ण रूपमा निको हुन सक्छ, त्यसका लागि सचेतना नै मुख्य औषधि हो।'
यो पुरस्कार जसको नाममा स्थापित छ, ती हुन् साहसकी पर्याय राधा बस्याल। १० वर्षभन्दा लामो समय पत्रकारिता गरेकी राधाले वैवाहिक जीवनपछि एकातिर घरेलु हिंसा र अर्कोतिर स्तन क्यान्सरसँग जुध्नुपरेको थियो। तर, उनले आफ्नो पीडालाई लुकाउनुको साटो 'राधा क्यान्सर सचेतना फाउन्डेसन' स्थापना गरी गाउँ-गाउँ र रेडियोमार्फत सचेतना फैलाउने अभियान चलाइन्।
२०७७ सालमा ३० वर्षको अल्पायुमै उनको निधन भए पनि उनको अभियानलाई अहिले भाइ प्रकाश बस्यालले निरन्तरता दिइरहेका छन्। कार्यक्रममा बोल्दै अध्यक्ष प्रकाश बस्यालले भने, 'समाजको डरले हिंसा लुकाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ र छोरीहरूलाई खुलेर बोल्न सक्ने वातावरण घरबाटै बनाउनुपर्छ।'
पुरस्कृत पत्रकार सरोज ढुङ्गेलले स्वास्थ्य क्षेत्र, विशेषगरी क्यान्सर र नसर्ने रोगका गम्भीर विषयमा कलम चलाउन यो सम्मानले आफूलाई थप ऊर्जा र प्रेरणा दिएको बताए।